आधा सिजन सकिँदा इन्टर मिलान ‘सिरी ए’को शीर्ष स्थानमा

काठमाडौं, पुस ६
वर्ष २०१९ को अन्तिम खेलमा इटालियन क्लब इन्टर मिलानले घरेलु लिग फुटबलमा शानदार जित निकालेको छ । मिलानले आफ्नो घरेलु मैदानमा गत राति भएको खेलमा पाहुना टोली जेनोआमाथि ४–० को जित निकालेको हो ।

मिलानको जितमा बेल्जियन फरवार्ड रोमेले लुकाकुले २ गोल गरे । लुकाकुले खेलको ३१औं पहिलो गोल गरेका थिए । लगत्तै ३२औं मिनेटमा रोवेर्टो ग्याङ्लियाडिनीले गोल गरेपछि मिलानले पहिलो हाफमा २–० को सहज अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा मिलानले २ गोल थप्यो । खेलको ६४औं मिनेटमा मिलानले पेनाल्टी पायो । जसमा सेबासटियानो इसपोसिटोले गोल गरे । फेरि खेलको ७१औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल मिलानले ४–० ले जित्यो ।

अब यो जितसँगै मिलान १७ खेलबाट ४२ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएको छ । जारी सिजन आधा खेल सकिँदा मिलानले साबिक विजेता युभेन्टसलाई पछि पारेको छ । विन्टर ब्रेकअघि लिगको शीर्ष स्थान रहनु मिलानका लागि सुखद् अवस्था देखिन्छ ।

मिलान र दोस्रो स्थानको युभेन्टसको खातामा समान ४२–४२ अंक छ । तर, गोलअन्तरमा मिलान शीर्ष स्थानमा छ । यता, पराजित जेनोआ भने समान खेलपछि ११ अंकसहित लिगको सबैभन्दा पुछारमा रहेको छ ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार ०७:५९
Loading...