बुन्डेसलिगा : उल्फ्सबर्गमाथि बार्यनको सहज जित

काठमाडौं, पुस ६
जर्मन लिग बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिखले वर्षको अन्तिम खेलमा सहज जित निकालेको छ । गत राति भएको २०१९ को अन्तिम तथा लिगको १७औं खेलमा बार्यनले उल्फ्सवर्गलाई २–० ले हरायो ।

आफ्नो घरेलु मैदानमा बार्यनलाई जिताउनेक्रममा जोसुवा जिर्कजी र सेर्गी गेनाब्रीले गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा गोल हुन ८५औं मिनेटसम्म पर्खिनु परेको थियो । बार्यनका लागि जोसुवाले थोमस मुलरको पासमा सो गोल गरेका थिए ।

त्यसपछि खेलको ८९औं मिनेटमा बार्यनले दोस्रो गोल हान्यो । गेनाब्रीले गरेको सो गोलमा रोवर्ट लेवान्डोस्कीले असिस्ट गरेका थिए । बाँकी समयमा थप गोल नभएपछि खेल बार्यनले २–० ले जित्यो ।

अब यो जितपछि बार्यनले १७ खेलबाट ३३ अंक जोडेको छ । बार्यन लिगको तेस्रो स्थानमा छ । बार्यन लिग लिडर लेपजिगभन्दा ४ अंकले पछि छ । पराजित उल्फ्सवर्ग २४ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार ०७:३१
Loading...