प्रिमियर लिग : लेस्टरमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं, पुस ६
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साबिक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गत राति भएको लिगको १८औं खेलमा दुई सिटी म्यानचेस्टर र लेस्टर भिड्दा सिटीले ३–१ को जित निकाल्यो ।

सिटीले आफ्नो घरेलु मैदानमा पछि परेको अवस्था उल्टाएर जित निकालेको हो । सिटीको घरमा लेस्टरका लागि खेलको २२औं मिनेटमा जिमी भर्डीले गोल गरेर पाहुना टोलीलाई झट्का दिएका थिए ।

तर, लेस्टरले अग्रता धेरैबेर जोगाउन सकेन । खेलको ३०औं मिनेटमा रियाद महारेजले दर्शनीय गोल गर्दै खेल १–१ बनाए । लगत्तै खेलको ४३औं मिनेटमा सिटीले पेनाल्टी पायो । बक्समा सिटीका रहिम स्टर्लिङमाथि फउल भएपछि पाएको पेनाल्टी इकाई गुन्डोगानले गोल गर्दै खेल २–१ बनाए ।

त्यसपछि दोस्रो हाफमा सिटीले १ गोल थप्यो । जहाँ खेलको ६९औं मिनेटमा ग्याब्रिएल जेससले गोल गर्दा सिटीले घरमा ३–१ को अग्रता लियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल सिटीले जित्यो ।

यो जितसँगै सिटीले लिगमा १८ खेलबाट ३८ अंक बनाएको छ । अब सिटीले एक खेल कम खेलेको लिभरपुलसँग अंक दूरी ११ मा झारेको छ । सिटी लेस्टरभन्दा मात्रै १ अंकले पछि परेर तेस्रो स्थानमा छ । पराजित लेस्टर ३९ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार ०७:०८
Loading...