पिएसजीको शानदार जितमा स्टार खेलाडीहरूको गोल

काठमाडौं, पुस ६
फ्रेन्च लिग वानमा लिग लिडर पिएसजीले वर्षको अन्तिम खेलमा शानदार जित निकालेको छ । गत राति भएको लिगको १८औं खेलमा पिएसजीले अमिन्स एससीलाई ४–१ ले हरायो । यो जितसँगै पिएसजीले वर्ष २०१९ को बिदाइ सुख्द अवस्थाबाट गरेको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ३ जना स्टार खेलाडीहरूले गरे । जसमा केलियन एमबाप्पेले २ गोल गरे भने नेइमार र माउरो इकार्डीले १–१ गोल गरे ।

पिएसजीका लागि खेलको १०औं मिनेटमै एमबाप्पेले गोल गर्दै खाता खोलेका थिए । सो गोलमा नेइमारले असिस्ट गरेका थिए । त्यसपछि पिएसजीले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल हान्यो । यसपटक नेइमारले इकार्डीको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी सहज जिततर्फ अघि बढेको थियो । तेस्रो गोलमा एन्जल डि मारियाले पास मिलाएका थिए ।

तर, खेलको ७०औं मिनेटमा पाहुना टोली अमिन्सले १ गोल गर्दै गोलअन्तर छोट्याउने प्रयास गरेको थियो । सो गोल स्टेभिन मेन्डोजाले गरेका थिए । तर, खेलको ८४औं मिनेटमा इकार्डीले बर्नाटको असिस्टमा गोल गरेपछि खेल पिएसजीले ४–१ ले जित्यो ।

अब यो जितसँगै पिएसजीले लिगका १८ खेलबाट ४५ अंक जोडेर अंक तालिकाको शीर्ष स्थान छ । १९ खेल खेलेको मार्सेइल्ली ३८ अंकसहित दोस्रोमा छ । पराजित अमिन्स १७ अंकसहित १८औं स्थानमा छ ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार ०६:३७
Loading...