२०१९ को अन्तिम खेलमा बार्सिलोनाको शानदार जित

काठमाडौं, पुस ५
स्पेनिस क्लब बार्सिलोनाले वर्ष २०१९ को बिदाइ सुखद् अवस्थाबाट गरेको छ । यस वर्षको अन्तिम खेलमा बार्सिलोनाले घरेलु लिग ला लिगामा अलाभेसमाथि ४–१ को शानदार जित निकाल्न सफल भयो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले लिगको १८औं खेलमा सहज जित निकाल्दै विन्टर ब्रेकअघि लिगको शीर्ष स्थान पनि सुरक्षित गरेको छ ।

आफ्नो घरमा बार्सिलोनालाई जिताउनेक्रममा ४ जना फरक–फरक खेलाडीले गोल गरे । त्यसमा पनि उरुग्वेन फरवार्ड लुइस स्वारेज नायक बने । उनले ३ गोलमा असिस्ट गर्नुका साथै पेनाल्टीमार्फत् १ गोल गरे ।

घरेलु टोलीका लागि एन्टोनी ग्रीजम्यानले खेलको १४औं मिनेटमै लुइस स्वारेजको क्रस पासमा शक्तिशाली प्रहार गर्दै सुन्दर गोल गरेका थिए । बक्स लाइन नजिकैबाट उनले हानेको प्रहारले पोस्टको दिशा लिँदा अलाभेसका गोलकिपरले सो बल रोक्न प्रयाससमेत गर्न पाएनन् ।

त्यसपछि खेलको ४५औं मिनेटमा अर्टुरो भिडालले अर्को शानदार गोल गरे । उनले स्वारेजकै पासमा मैदानको माथिल्लो भागबाट हानेको कडा प्रहारले बुलेट शैलीमा जाली चुमेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को सहज अग्रता बनायो ।

दोस्रो हाफ सुरु हुनासाथ पाहुना टोलीले गोल गर्दै खेलमा फर्किने संकेत देखायो । खेलको ५६औं मिनेटमा अलाभेसका पेरे पोन्सले बक्स भित्रबाट शानदार हेडिङ गोल गरेपछि खेल २–१ मा झरेको थियो । दोस्रो हाफको सुरुआतबाटै आक्रामक खेल खेलेको अलाभेसले बार्सिलोनामाथि दबाब बढाएको थियो ।

तर, खेलको ६९औं मिनेटमा बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सीले दर्शनीय गोल गरेपछि बार्सिलोना खेलमा ३–१ ले अघि रह्यो । उनले २५ यार्ड दूरीबाट स्वारेजको पासमा शानदार गोल गरेका थिए ।

त्यसपछि खेलको ७५औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । बक्समा अलाभेसका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरबाट बार्सिलोनालाई पेनाल्टीको मौका दिए । जसमा कप्तान मेस्सीले पेनाल्टी नहानेर स्वारेजलाई दिए । र, स्वारेजले कुनै गल्ती नगरी गोल गरेपछि खेलमा बार्सिलोनाले ४–१ को लिड लियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले जित्यो ।

अब बार्सिलोनाले १८ खेलबाट ३९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । ऊ एक खेल कम खेलको रियल मड्रिडभन्दा ३ अंकले अघि छ । पराजित अलाभेस १९ अंकसहित १५औं स्थानमा छ ।

वर्षको अन्तिम यसै खेलबाट बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पनि वर्ष २०१९ मा ५० गोल पूरा गरे । यस खेलअघिसम्म उनका नाममा कूल ४९ गोल थियो । मेस्सीले क्लब र देशबाट गरी कूल ५८ खेलबाट ५० गोल पूरा गरेका हुन् । जसमा ५ गोल अर्जेन्टिना र ४५ गोल बार्सिलोनाका लागि गरे ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार २२:३५
Loading...