बार्सिलोना भर्सेस अलाभेस : पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि

काठमाडौं, पुस ५
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा वर्ष २०१९ को अन्तिम खेलमा अहिले बार्सिलोना र अलाभेस खेलिरहेका छन् । आफ्नो घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लिएको छ ।

क्याम्प नोउमा बार्सिलोनाले फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानको शानदार गोलबाट अग्रता लिएको हो । ग्रीजम्यानले खेलको १४औं मिनेटमा लुइस स्वारेजको क्रस पासमा शक्तिशाली प्रहार गर्दै सुन्दर गोल गरेका थिए । बक्स लाइन नजिकैबाट उनले हानेको प्रहारले पोस्टको दिशा लिँदा अलाभेसका गोलकिपरले सो बल रोक्न प्रयाससमेत गर्न पाएनन् ।

त्यसपछि खेलको ४५औं मिनेटमा अर्टुरो भिडालले अर्को शानदार गोल गरे । उनले स्वारेजकै पासमा मैदानकोा माथिल्लो भागबाट हानेको कडा प्रहारले बुलेट शैलीमा जाली चुमेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को सहज अग्रता बनायो ।

खेलको १०औं मिनेटमा कप्तान लिओनल मेस्सीले गोल गरे पनि उनी अफसाइड रहेको भन्दै रेफ्रीले सो गोल रद्द गरिदिएका थिए । मेस्सी आजको खेलमा कम्तीमा १ गोल गर्दै वर्ष २०१९ मा ५० गोल पूरा गर्ने दाउमा छन् ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार २१:२८
Loading...