पिएसजीलाई च्याम्पियन्स लिग जिताउन नेइमार ज्यान दिन तयार !

एजेन्सी, पुस ५
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले क्लबलाई च्याम्पियन्स लिग जिताउन आफूले ज्यान दिनसमेत पछि नपर्ने बताएका छन् । नेइमारले ‘फ्रान्स म्यागजिन’सँगको अन्तर्वार्ताक्रममा आफ्नो उद्देश्य यो सिजन च्याम्पियन्स लिग जित्नु रहेको बताउँदै त्यसका लागि आफूले सबैथोक दिने बताए ।

नेइमारले अब आफ्नो चोटका दिन सकिएको पनि बताए । ‘पछिल्ला वर्ष मेरा लागि चोटले निकै कठिन भए । म थुप्रैपटक रोएँ । सायद त्योभन्दा बढी निराश हुने ठाउँ थिएन । तर, अब चोटका दिन सकिएका छन् । म सधैं खेल्न र मैदानमा रहन चाहन्छु,’ नेइमारले भनेका छन् ।

नेइमारले पिएसजीबाट च्याम्पियन्स लिग जित्नु आफ्नो एक मात्रै उद्देश्य रहेको बताए । ‘जो कोही यो प्रतियोगिता जित्न चाहन्छन् । म पनि फरक छैन । म आफ्ना लागि र टिमका लागि यहाँबाट यो उपाधि जित्न चाहन्छु,’ नेइमारले भने, ‘टिमलाई च्याम्पियन्स लिग जिताउन म ज्यान दिन पनि तयार छु ।’

नेइमारले आफ्नो सरुवा चर्चाबारे पनि भनाइ राखेका छन् । २७ वर्षीय नेइमारले सरुवाको चर्चामा आफ्नो चासो नरहेको बताउँदै तत्कालका लागि पिएसजी आफ्नो प्राथमिकतामा रहेको बताए । ‘अहिले मैले अन्य कुरा सोचेको छैन । हामी मध्यसिजनमा छौं । र, यतिबेला पिएसजी मेरो प्रमुख प्राथमिकता हो । टिमका लागि खेल्नु र उपाधि जित्नु मेरो काम हो ।’

नेइमारले पूर्वक्लब बार्सिलोना फर्किने विषयमा सोधिएको प्रश्नमा कामचलाउ जवाफ दिए । ‘अहिले यसबारे कुरा गर्ने समय होइन । म पिएसजीको खेलाडी हुँ । र, यहाँ मेरो सम्झौता छ ।’

नेइमार सन् २०१७ मा बार्सिलोनाबाट विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका थिए । तर, पेरिसमा नेइमारको भविष्य सोचेजस्तो हुन सकेको छैन । गत वर्ष र यो वर्ष पनि लामो समय चोटसँग गुज्रिएका नेइमार अहिले फिट छन् । उनले यो सिजन ११ खेलबाट ८ गोल गर्दै ३ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार २०:०३
Loading...