बालोन डि‘ओरमा मेस्सीलाई एलिसनको ‘काउन्टर’ !

एजेन्सी, पुस ५
इंग्लिस क्लब लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसन बेकरले २०१९ को बालोन डि‘ओर र आगामी वर्षको अवार्डबारे धारणा राखेका छन् । क्लब विश्वकप फुटबलको फाइनल खेलअघि मिडियासँग कुरा गर्दै उनले आफू वा लिभरपुलका खेलाडीले ढिलो–चाँडो बालोन डि‘ओर जित्न सक्ने बताए ।

बेकरले यस वर्ष बालोन डि‘ओरका लागि बार्सिलोनाका लिओनल मेस्सीभन्दा लिभरपुलका खेलाडी योग्य रहे पनि नतिजालाई कसैले नर्कान नसक्ने बताए । ‘मेस्सी एक ठूला खेलाडी हुन्, उनी हरेक अवार्ड जित्न क्षमता राख्छन् । यस वर्ष पनि उनी सबै अवार्डका लागि दाबेदार थिए,’ बेकरले भनेका छन्, ‘तर, उनीभन्दा अघि लिभरपुलका खेलाडी थिए । यो कुरा मेस्सीलाई निकै राम्रोसँग थाहा छ ।’

बेकरले मेस्सी अर्कै ग्रहबाट आएको भन्दै तारिफ गर्न पनि पछि परेनन् । ‘मेस्सी अर्कै ग्रहबाट आएका हुन् । उनीसँग अद्भुत क्षमता छ, उनीजस्ता खेलाडी एक युगमा एकपटक आउँछन्,’ बेकरले भने ।

बेकरले भविष्यमा आफूले वा लिभरपुलका अन्य खेलाडीले बालोन डि‘ओर जित्न सक्ने बताए । ‘यो भन्न निकै कठिन छ । तर, साडियो माने, भर्जिल भान डाइक, मोहमद सालाह वा म आफैं पनि, कसैले भविष्यमा बालोन डि‘ओर जित्न सक्छौं,’ बेकरले भने, ‘आगामी सिजन कसरी बित्छन्, हेरौं ।’

बेकरले आफ्ना लागि वर्ष २०१९ निकै महत्त्वपूर्ण रहेको बताए । ‘सम्भवतः यो वर्ष मेरो करिअरको सबैभन्दा सफल वर्ष हुनेछ । यस वर्ष मैले क्लब र देश दुवै टिमबाट ठूला उपाधि जितें,’ बेकरले भने ।

बेकर यस वर्षको बालोन डि‘ओर अवार्डको टप–१० मा थिए । उनी सातौं स्थानमा थिए । लिभरपुलकै भर्जिल भान डाइक मेस्सीभन्दा मात्रै ७ अंकले पछि परेर दोस्रो स्थानमा थिए ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार १८:४३
Loading...