आफैंलाई छैन विश्वास, रोनाल्डो भन्छन्– ‘म साँच्चै २.५६ मिटर उफ्रिएको थिएँ ?’

एजेन्सी, पुस ५
तीन दिनअघि इटालियन सिरी ए फुटबलमा साम्पडोरियाविरुद्ध गरेको जादुयी हेडिङ गोलबारे क्रिस्टियानो रोनाल्डोले आफ्नो भनाइ राखेका छन् । अवे मैदानमा टिमलाई जिताउन अपत्यरियाले गोल गरेका उनले साउदी अरेबियामा सुपरकोपाको फाइनल खेल्न पुगेपछि मिडियासँग कुरा गर्दै आफ्नै गोलमा अविश्वास व्यक्त गरेका हुन् ।

रोनाल्डोले टिमका लागि खेलको ४५औं मिनेटमा विजयी गोल गरेका थिए । उनले अपत्यारियाले गारी जमिनबाट २.५६ मिटर उफ्रिएर शानदार हेडिङ गोल गरेका थिए । उनी सो गोल हेडिङ गर्नेक्रममा १.५० सेकेन्ड हावामै रहेका थिए । अहिले पनि रोनाल्डोको सो गोलको चर्चा उस्तै छ ।

‘स्काई इटालिया’सँग कुरा गर्दै रोनाल्डोले आफ्नो गोल उत्कृष्ट भए पनि आफू जमिनबाट त्यत्ति माथिसम्म उफ्रिएँ भन्ने त्यत्तिबेला तत्कालै नलागेको बताएका छन् । ‘के म साँच्चै २.५६ मिटर उफ्रिएँको थिएँ ?,’ रोनाल्डोले भनेका छन्, ‘त्यत्तिबेला मलाई यस्तो लागेन । अहिले फुटेज हेर्दा रमाइलो लाग्छ ।’

तर, रोनाल्डोले सो गोल उत्कृष्ट थियो भन्ने आफूलाई त्यत्तिबेलै लागेको बताए । ‘यो एक उत्कृष्ट गोल थियो भन्ने मलाई गोल भइसक्दा लागिसकेको थियो । टिमलाई जिताउन सुन्दर गोल गर्न पाउँदा म निकै खुसी छु । मलाई यस्ता गोल गर्न मन पर्छ,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफू मात्रै नभएर सिंगो टिम अहिले एक बलियो मनोबलका साथ खडा भएको बताए । ‘म खुसी छु, सिंगो टिम अहिले नयाँ गति र स्तरमा उभिएको छ, जुन हामी चाहन्थ्यौं,’ रोनाल्डोले भने, ‘अबका दिनमा हामी यस्तै टिम एकता, प्रदर्शन र खेल कायम राख्न चाहन्छौं । किनभने, अब हामी चाँडै सिजनको महत्त्वपूर्ण चरणमा जाँदैछौं ।’

प्रकाशित मिति ५ पुष २०७६, शनिबार १७:४७
Loading...