प्रिमियर लिगमा आज दुई सिटीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, पुस ५
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एकै दिन ७ खेल हुँदैछन् । आज वर्ष २०१९ को अन्तिम खेलका रूपमा लिगका १८औं साताका खेल हुन लागेका हुन् । यी खेल सकिएपछि यस वर्षका खेल सकिनेछन् ।

आज हुने खेलमा केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । जसमा आज दुई सिटी म्यानचेस्टर सिटी र लेस्टर सिटीको रोमाञ्चक भिडन्त हुँदैछ । यो सिजन लिगमा खराब अवस्थामा रहेको सिटी वर्षको अन्तिम खेल आफ्नो घरेलु मैदानमा लिगको अर्को बलियो टिम लेस्टर सिटीसँग खेल्दैछ ।

हाल अंक तालिकामा लिभरपुल ४९ अंकसहित शीर्ष स्थानमा छ । आज साबिक विजेता सिटीको घरमा उत्रिन लागेको लेस्टर ३९ अंकसहित दोस्रो स्थानमा छ भने म्यानचेस्टर सिटी ३५ अंकसहित तेस्रोमा छ । आज लिगको दोस्रो र तेस्रो स्थानका टिम भिड्दा यो खेल निकै रोमाञ्चक हुनेछ ।

लेस्टर आज सिटीलाई उसकै घरेलु मैदानमा हराएर उपाधि होडमा लिभरपुलसँगको अंक दूरी घटाउने दाउमा छ । यदि आज जित निकाल्न सके लेस्टरले सिटीलाई ७ अंकले पछि छाड्नेछ । यता, सिटीले आफ्नो घरमा जिते उसले दोस्रो स्थानको लेस्टरसँग अंक दूरी १ मा झार्नेछ ।

आजका खेल नेपाली समयअनुसार :

  1. एभर्टन भर्सेस आर्सनल – साँझ ६ः१५ बजे
  2. न्युक्यास्टल भर्सेस क्रिस्टल प्यालेस – राति ८ः४५ बजे
  3. एस्टोन भिल्ला भर्सेस साउथह्यामपटन – राति ८ः४५ बजे
  4. नर्विच सिटी भर्सेस उल्भ्स – राति ८ः४५ बजे
  5. ब्राइटन भर्सेस सेफ युनाइटेड – राति ८ः४५ बजे
  6. बोर्नेमाउथ भर्सेस बर्नली – राति ८ः४५ बजे
  7. म्यानचेस्टर सिटी भर्सेस लेस्टर सिटी – राति ११ः१५ बजे

प्रकाशित मिति ५ पुष २०७६, शनिबार ११:३६
Loading...