वर्षको अन्तिम खेल : आज रोनाल्डोलाई नयाँ कीर्तिमान बनाउने मौका

काठमाडौं, पुस ६
वर्ष २०१९ को विन्टर तथा क्रिसमस पर्वको बिदा हुनुभन्दा अघि इटालियन युभेन्टसले यस वर्षको अन्तिम खेल खेल्दैछ । आज उसले इटालियन सुपरकोपाको फाइनलमा उपाधिका लागि लिग प्रतिस्पर्धी टिम लाजियोसँग भिडन्त गर्दैछ । खेल साउदी अरेबियामा नेपाली समयअनुसार राति १०ः३० बजेबाट सुरु हुनेछ ।

आज युभेन्टस यस सिजनको पहिलो उपाधिका लागि लाजियोसँग भिड्दा रोनाल्डो भने वर्ष २०१९ लाई सम्झनायोग्य बनाउने दाउमा छन् । आजको खेलमा कम्तीमा १ गोल गर्दै रोनाल्डो वर्ष २०१९ मा क्लब र देशका लागि गरी ४० गोल पूरा गर्न चाहन्छन् ।

लाजियोविरुद्धको खेल यस वर्षको अन्तिम खेल भएकाले रोनाल्डोका लागि ४० गोलको आँकडा पूरा गर्ने यो नै अन्तिम अवसर हो । रोनाल्डोले हालसम्म क्लब र देशका लागि गरी वर्ष २०१९ मा ३९ गोल गरेका छन् ।

यस वर्ष रोनाल्डोले क्लब युभेन्टसका लागि २५ गोल गरेका छन् भने पोर्चुगलका लागि १४ गोल गरेका छन् । उनी अब ४० गोलबाट मात्रै १ गोलले टाढा छन् ।

३४ वर्षका रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । उनले युभेन्टसका लागि पाँच खेलमा लगातार गोल गरेका छन् । उनले ५ खेलबाट ६ गोल गरेका छन् । आज राति उनी अर्को एक महत्त्वपूर्ण गोलको खोजीमा हुनेछन् ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार १३:०६
Loading...