मेस्सी युरोपको नम्बर वान खेलाडी : भान डाइक र रोनाल्डोको स्थान कहाँ ?

काठमाडौं, पुस ४
स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी वर्ष २०१९ का लागि युरोपको सबैभन्दा उत्कृष्ट खेलाडी बनेका छन् । फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘सिआईइएस फुटबल अब्जरभेटोरी’ ले वर्ष २०१९ का लागि सार्वजनिक गरेको युरोपका उत्कृष्ट २५ खेलाडीको सूचीमा मेस्सी पहिलो नम्बरमा परेका हुन् ।

सो संस्थाले वर्ष २०१९ को समग्र प्रदर्शन र खेलाडीको सफलतालाई आधार मानेर वार्षिक सूची सार्वजनिक गरेको छ । जसमा केही समयअघि मात्रै कीर्तिमानी छैटौंपटक बालोन डि‘ओर जितेका अर्जेन्टिनी फरवार्ड मेस्सी यस वर्ष युरोपका सबैभन्दा उत्कृष्ट खेलाडी बनेका हुन् ।

मेस्सी पहिलो नम्बरमा पर्दा गत वर्ष युरोपियन च्याम्पियन्स लिग जितेका तथा यस वर्ष बालोन डि‘ओर अवार्डमा मेस्सीभन्दा मात्रै ७ अंकले पछि परेका इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक भने मुस्किलले १०औं स्थानमा मात्रै परेका छन् ।

तर, मेस्सीपछि दोस्रो नम्बरमा यस वर्ष लामो समय चोटबाट गुज्रिएर कम मात्रै खेलेका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार छन् । उनी पहिलो स्थानका मेस्सीभन्दा मात्रै २२ अंकले पछि छन् ।

त्यस्तै, तेस्रो नम्बरमा डच क्लब आयाक्सका हाकिम जियाच, चौथोमा फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे र पाँचौंमा पिएसजीकै एन्जल डि मारिया छन् । छैटौंमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डे ब्रुयाने, सातौंमा जर्मन क्लब आरबी लेपजिगका टिमो वार्नर, आठौंमा लिभरपुलका साडियो माने र नवौंमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की रहेका छन् ।

यस सूचीमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने १२औं स्थानमा मात्रै छन्, जबकि उनी बालोन डि‘ओर अवार्डमा तेस्रो स्थानमा थिए । टप–२५ को सबैभन्दा पुछार २५औं स्थानमा रियल मड्रिडका करिम बेन्जेमा रहेका छन् ।

तस्बिरमा पूरा सूची हेरौं :

प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार १९:५३
Loading...