लिभरपुलले भित्र्यायो ‘असिस्ट मास्टर’ जापानी खेलाडी

एजेन्सी, पुस ४
इंग्लिस क्लब लिभरपुलले नयाँ खेलाडी अनुबन्ध गरेको छ । बिहीबार क्लबले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गरको औपचारिक घोषणा गरेको हो । खेलाडी अनुबन्धका लागि लिभरपुलले ७.२५ मिलियन पाउन्ड खर्चेको बताइएको छ ।

लिभरपुलले मिनामिनोलाई अस्ट्रियन क्लब रेड बुल साल्जबर्ग क्लबबाट भित्र्याएको हो । २४ वर्षीय जापानी खेलाडीले क्लबसँग चार वर्षका लागि सम्झौता गरेका छन् । उनी आगामी २०२४ सम्म लिभरपुलमै रहनेछन् ।

मिनामिनो जनवरीबाट औपचारिक रूपमै लिभरपुलका खेलाडी हुनेछन् । जनवरी विन्डो जनवरी १ बाटै खुल्ने भएकाले उनी तत्काल रेड बुलकै खेलाडी हुन् ।

मिनामिनोले यो सिसजन क्लबका लागि कूल २२ खेल खेल्दै ९ गोल गरेर ११ गोलमा असिस्ट गरेका छन् । उनलाई ‘असिस्ट मास्टर’ खेलाडीका रूपमा लिइन्छ ।

मिनामिनो उनै खेलाडी हुन्, जसले यै सिजन मात्रै च्याम्पियन्स लिगको समूह चरणमा लिभरपुलविरुद्धको खेलमा पनि १ गोल गरेका थिए ।

लिभरपुलसँग अनुबन्ध भएपछि मिनामिनोले खुसी व्यक्त गरेका छन् । ‘लिभरपुलबाट खेल्नु मेरो सपना थियो, जुन आज पूरा भएको छ,’ मिनामिनोले भनेका छन्, ‘म यहाँबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जित्न चाहन्छु ।’

प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार ०९:१४
Loading...