मेस्सीका पितासँग निर्णायक वार्ता गर्दै बार्सिलोना

एजेन्सी, पुस ४
स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रमुख खेलाडी तथा टोलीका कप्तान लिओनल मेस्सीसँग सम्झौता गर्न कसरत थालेको छ । अध्यक्ष जोसेप मारिया बार्टोमेउले अहिले मेस्सीका पितासँग सम्झौता नवीरकण गर्न वार्ता गर्ने तयारी गरेका छन् ।

मेस्सीका एजेन्ट उनका पिता जोर्गे मेस्सी आफैं हुन् । र, क्लबले मेस्सीसँग सम्झौता गर्न पहिला उनका पितामार्फत् छलफल अघि बढाउनुपर्छ ।

३२ वर्षीय मेस्सीको हाल बार्सिलोनासँग रहेको सम्झौता सन् सिजन २०२०–२१ को सिजनको अन्त्यसँगै सकिँदैछ । बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’का अनुसार क्लबका अध्यक्ष बार्टोमेउले यसै साता अर्जेन्टिना पुगेर मेस्सीका पितासँग वार्ता गर्नेवाला छन् ।

मेस्सी हाल क्रिसमस बिदा मनाउन अर्जेन्टिना फर्किसकेका छन् । यसै साता बार्टोमेउले मेस्सीको घर भएको स्थान अर्जेन्टिनाको रोजारियो सहरमा मेस्सीका पितासँग एक होटलमा वाता गर्ने तयारी छ ।

बार्टोमेउको कार्याकाल बार्सिलोनामा २०२१ मा सकिँदैछ । आफ्नो कार्यलका नसकिँदै बार्टोमेउले मेस्सीसँग नयाँ सम्झौता गर्न चाहेका छन् । यदि नयाँ सम्झौता हुन नसके मेस्सीले अर्को सिजनपछि क्लब छाड्ने करिब पक्का हुन्छ ।

केही समयअघि मेस्सीले एक अन्तर्वार्तामा बोल्दै आफूले बार्सिलोनामा ठूला उपाधि जित्दासम्म रहिरहने बताएका थिए । टिमले ठूला उपाधि जित्न नसके आफू रहिरहनुको अर्थ नहुने बताएर बार्सिलोना छाड्न सक्ने संकेत गरेका थिए ।

बार्सिलोनाले पछिल्ला चार सिजन लगातार च्याम्पियन्स लिग जित्न सकेको छैन । यदि यस सिजन पनि बार्सिलोनाले यो उपाधि जित्न नसके मेस्सीले स्पेन छाड्ने बताइन्छ ।

प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार ०८:५४
Loading...