ग्वार्डिओला भन्छन्– ‘रियल मड्रिड च्याम्पियन्स लिगको राजा हो’

एजेन्सी, पुस ३
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस रियल मड्रिडको भिडन्त हुँदैछ । प्रमुख उपाधि दाबेदार टिम अन्तिम १६ मै भिड्ने भएपछि यस खेललाई अन्तिम १६ को सबैभन्दा रोमाञ्चक खेलका रूपमा हेरिएको छ ।

कीर्तिमानी १३औं तथा पछिल्ला चार सिजनमध्ये तीन सिजन यो प्रतियोगिता जितेको रियल पुनः च्याम्पियन्स लिगको शान फर्काउने दाउमा छ । तर, उसका लागि प्रिमियर लिगको साबिक विजेता सिटी बाटोमा छ ।

यस सिजन उपाधिका लागि प्रमुख दाबेदारमध्ये एक मानिएको सिटीले च्याम्पियन्स लिगको सर्वाधिक सफल टिमसँग अन्तिम १६ मै भिड्नु परेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रतिक्रिया दिएका छन् । गत राति काराबाओ कप फुटबलको सेमिफाइनल प्रवेश गरेपछि मिडियासँग कुरा गर्दै ग्वार्डिओलाले च्याम्पिन्स लिगबारे बतााएका हुन् ।

विगतमा बार्सिलोनामा प्रशिक्षक रहेर थुप्रै सफलता दिलाएका ग्वार्डिओलाले रियल मड्रिडलाई च्याम्पियन्स लिगको राजा भन्दै उनीहरूसँग अन्तिम १६ मै भिड्नु ठूलो चुनौती रहेको बताएका छन् । तर, खेल आउन दुई महिना बाँकी रहेकाले आफूहरूले सो खेलका लागि पर्याप्त तयारी गर्ने पेपले बताए ।

‘हाम्रा लागि यो एक अविश्वसनीय परीक्षा हुनेछ । रियल मड्रिड च्याम्पियन्स लिगको राजा हो । तर, बाँकी दुई महिनामा हामी उत्कृष्ट तयारी गर्नेछौं । अन्तिम १६ का दुई खेलमा राम्रो गर्न हामी प्रयास गर्नेछौं,’ ग्वार्डिओलाले भने ।

ग्वार्डिओलाले रियल मड्रिड अहिले उत्कृष्ट लयमा फर्किएको पनि बताए । ‘उनीहरू अहिले उत्कृष्ट लयमा फर्किएका छन् । मलाई लाग्छ, यो खेलमा दुवैका लागि ५०–५० प्रतिशत सम्भावना हुनेछ,’ ग्वार्डिओलाले भने ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार २२:०९
Loading...