‘हेडिङ किङ’ रोनाल्डो : बन्यो नयाँ रेकर्ड

एजेन्सी, पुस ३
इटालियन सिरी ए फुटबलमा गत राति युभेन्टसले अवे मैदानमा साम्डोरियालाई १–२ ले हरायो । युभेटसलाई अवे मैदानमा महत्त्वपूर्ण जित दिलाउन पाउलो डिबालाले एक दर्शनीय भली किकमा गोल गरे भने क्रिस्टियानो रोनाल्डोले जादुयी हेडिङ गोल गरे ।

रोनाल्डोले पहिलो हाफको ४५औं मिनेटमा निकै उचाइ लिएर शानदार हेडिङ गोल गरेका थिए, जुन गोलले रेकर्ड बनाएको छ । रोनाल्डो अब समकालीन युरोपका टप–५ लिगमा सबैभन्दा बढी हेडिङ गोल गर्ने खेलाडी बनेका छन् ।

सन् २००३–०४ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट शीर्ष लिग खेल्न थालेयता रोनाल्डोले युरोपियन टप–५ मा लिगमा कूल ६९ हेडिङ गोल गरिसकेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा सर्वाधिक हो ।

युरोपियन टप लिगमा मात्रै हैन, ३४ वर्षीय रोनाल्डोका नाममा फुटबलको इतिहासमै सबैभन्दा बढी हेडिङ गोल गर्ने खेलाडीको दुर्लभ रेकर्ड पनि छ । रोनाल्डो एक मात्रै यस्ता खेलाडी हुन्, जसले करिअरमा १०० हेडिङ गोल पूरा गरेका छन् ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार १३:१४
Loading...