टिमको प्रदर्शनबाट भाल्भर्डे बेखुसी : खेलपछि दिए यस्तो प्रतिक्रिया

एजेन्सी, पुस ३
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सिजनको पहिलो इएल क्लासिको गोलरहित बराबरीमा सकियो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा गत राति भएको खेलमा रियल मड्रिडको १ गोललाई भिएरआरले मान्यता नदिँदा दुवै टोलीले संघर्षपूर्ण ०–० नतिजामा चित्त बुझाए ।

बार्सिलोनाले ९३ हजार घरेलु दर्शकमाझ रियलविरुद्ध खेले पनि खेल अवधिभर पूर्ण दबाबमा रह्यो । रियलले कूल १७ पटक प्रहार गर्दा बार्सिलोनाले जम्मा ७ पटक मात्रै रियलको पोस्टमा आत्रमण बुन्यो । त्यसमा पनि टार्गेटमा ३ प्रहार मात्रै रहे । खेलभरि रियलले गोलका अवसर बढी बनाए पनि गोल गर्न नसक्दा बार्सिलोनालाई उसकै घरमा हराउने रियलको दाउ पूरा हुन पाएन ।

आफ्नो घरमा पाहुना टोलीसँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले केही असन्तुष्टि जनाएका छन् । खेलपछि पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले नतिजा खराब नआए पनि टिमले स्तरअनुसार खेल्न नसकेको उनको भनाइ थियो । आफ्नो घरमा गोल गर्न नसक्नु उत्कृष्ट फुटबल हुन नसक्ने उनको भनाइ थियो । खेलपछि पत्रकार सम्मेलनमा भाल्भर्डेले राखेका भनाइ–

नढाँटीभन्दा हामी यो खेललाई लिएर निकै तनावमा थियौं । किनभने, यो इएल क्लासिको हो । यो अन्य खेलजस्तो सामान्य हुँदैन ।

हामीले खेल नजिते पनि गोल गर्न सक्नुपर्थ्यो । आफ्नो घरमा गोल गर्न सकिँदैन भने त्यहाँ सबै कुरा ठीक छैनन् भन्ने सन्देश जान्छ । म यो मान्छु– हरेक खेलमा गोल हुन सक्दैन । तर, यो खेलमा गोल आवश्यक थियो ।

नतिजाका हिसाबले खराब नभए पनि टिमको प्रदर्शनका हिसाबले हामीले आज सामान्य फुटबल मात्रै खेल्यौं । हामी खेलभरि नै उनीहरूको दबाबमा थियौं । उनीहरूले थुप्रैपटक गोलका अवसर बनाए । हामी आफ्नो घरमा खेल्दै छौं भने यस्तो दबाब सुहाउँदैन ।

कोही एक खेलाडीको प्रदर्शनमाथि मेरो कमेन्ट छैन । किनभने, फुटबल टिमले खेल्ने हो । कहिलेकाहीं दबाबमा सबै कुरा ठीकठाक हुँदैनन् । क्लासिको दुवै टिमका लागि दबाबपूर्ण हुन्छ । सायद उनीहरूलाई पनि यस्तै भयो होला ।

हामीले गोल खाएनौं । र, सबै अंक पनि गुमाएनौं, यो निकै महत्त्वपूर्ण छ । हामी अहिले लिग लिडर छौं तर यो केही हैन । हामीले अंकको दूरी राखेर अघि बढ्नुपर्छ ।

आज रियल मड्रिडले उच्च स्तरको खेल खेल्यो । हामीले उनीहरूबाट यस्तो खेलको अनुमान गरेका थिएनौं । उनीहरू अहिले साँच्चै राम्रो अवस्थामा फर्किएका छन् । एक दर्शकका हिसाबले मात्रै हेर्दा उनीहरू यस खेलमा जितको हकदार थिए । तर, खेल जित्न त गोल चाहिन्छ, जुन उनीहरूले पनि गर्न सकेनन् ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार १३:०८
Loading...