‘इएल क्लासिको’मा रामोसको कीर्तिमान

काठमाडौं, पुस ३
स्पेनिस रियल मड्रिडका कप्तान सर्जियो रामोसले इएल क्लासिकोमा कीर्तिमान बनाएका छन् । स्पेनिस खेलाडी रामोस अब स्पेनको चर्चित खेल ‘इएल क्लासिको’ सबैभन्दा बढी खेल्ने खेलाडी बनेका छन् ।

गत राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सिजनको पहिलो क्लासिको खेल्दा रामोसका लागि भने ४३औं खेल थियो । अर्थात्, उनले बार्सिलोनाविरुद्ध खेलेको कूल खेल संख्या ४३ पुगेको छ, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

३३ वर्षीय डिफेन्डर रामोसले यसअघि रियलकै दुई र बार्सिलोनाका एक खेलाडीका नाममा संयुक्त रूपमा सर्वाधिक इएल क्लासिको खेल संख्याको रेकर्ड भंग गरेका हुन् । यसअघि यो रेकर्ड रियलकै लिजेन्ड खेलाडी पाको गेन्टो र मोनालो सान्चिज तथा बार्सिलोनाका पूर्वकप्तान जाभीको नाममा थियो । उनीहरू ३ जनाले नै क्लासिको कूल ४२ पटक खेलेका थिए ।

रामोसले सन् २००५ मा पहिलोपटक इएल क्लासिको खेलका थिए । उनी सेभिल्लाबाट रियल आएका थिए । सो खेलमा रियल बार्सिलोनाको घरमा ३–० ले हारेको थियो । सो खेलमा बार्सिलोनाका लागि रोनाल्डिन्होले २ गोल गर्दा सामुएल इटोले १ गोल गरेका थिए ।

रामोसले रियलमा आइकन हरेक इएल क्लासिको खेलेका छन् । सोक्रममा उनले बासिलोनाविरुद्ध कूल ४ गोल गरेका छन् । उनले ४ वटै गोल हेडिङमार्फत् गरेका छन् ।

रियलबाट सर्वाधिक रातो कार्ड खाने खेलाडीको खराब रेकर्डसमेत बनाएका रामोसले ४३ खेल खेल्दा कूल पाँच रातो कार्ड भने क्लासिकोमै खाएका छन् ।

रामोसले बार्सिलोनाविरुद्ध ४३ खेल खल्दा ला लिगामा २९ खेल खेलेका छन् भने कोपा डेल रे फुटबलमा ७, स्पेनिस सुपर कपमा ६ र च्याम्पियन्स लिगमा एक खेल खेलेका छन् ।

तर, रामोसको यो रेकर्ड धेरै समयसम्म रहने भने देखिँदैन । किनभने, बार्सिलोनाका लिओनल मेस्सीले पनि हालसम्म क्लासिको कूल ४२ पटक खेलिसकेका छन् ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार १२:३९
Loading...