काराबाओ कप : प्रभावशाली जितसहित युनाइटेड सेमिफाइनलमा

काठमाडौं, पुस ३
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नकआउट काराबाओ कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको अन्तिम आठको खेलमा युनाइटेडले कोलचेस्टर युनाइटेडलाई ३–० ले स्तब्ध बनायो ।

यो जितपछि युनाइटेडले सेमिफाइनल यात्रा पक्का गरेको छ । अब फाइनल पुग्न सेमिफाइनलमा युनाइटेडले प्रिमियर लिगको प्रतिस्पर्धी म्यानचेस्टर सिटीको सामना गर्नुपर्ने छ ।

खेलमा पकड जमाएको युनाइटेडले दोस्रो हाफमा १० मिनेटको बीचमा ३ गोल हानेको थियो । पहिलो हाफमा पटक–पटक गोलको अवसर गुमाएको युनाइटेडले दोस्रो हाफमा प्रभावशाली नतिजा निकाल्यो ।

युनाइटेडका लागि खेलको ५१औं मिनेटमा मार्कुस रासफोर्डले पहिलो गोल गरे । त्यसपछि ५६औं मिनेटमा रायन ज्याक्सनले गोल गरेपछि युनाइटेडले खेलमा २–० को अग्रता बनायो ।

फेरि दोस्रो गोल गरेको ५ मिनेटपछि नै युनाइटेडका लागि एन्टोनी मार्सियालले गोल गरेपछि युनाइटेड सहज जितर्फ अघि बढेको थियो । बाँकी समयमा थप गोल नभएपछि खेल युनाइटेडले ३–० ले जित्यो ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०९:२७
Loading...