बुन्डेसलिगा : बार्यन म्युनिख तेस्रो स्थानमा उक्लियो

काठमाडौं, पुस ३
यो सिजन कमजोर अवस्थाबाट गुज्रिरहेको साबिक विजेता बार्यन म्युनिख बुन्डेसलिगाको तेस्रो स्थानमा उक्लिएको छ । गत राति भएको खेलमा बार्यनले अवे मैदानमा एससी फ्रेवर्गलाई १–३ ले हरायो ।

अवे मैदानमा महत्त्वपूर्ण जित दिलाउनेक्रममा बार्यनले इन्जुरी समयमा विजयी गोल गरेको थियो । बार्यनले खेलको १६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि खेलको ५८औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । भिनकेन्जो ग्रिफोले गोल गरेका थिए । सो गोलपछि खेल बराबरीतर्फ अघि बढेका बेला खेलको इन्जुरी समयमा बार्यनले २ गोल थप्यो । ९० मिनेटपछि थपिएको समयको दोस्रो मिनेटमा जोसुवा जिरकिजले गोल गरे । उनले बार्यनको सिनियर टोलीका लागि पहिलो गोल गरेका हुन् ।

फेरि त्यसको ३ मिनेटपछि नै सेर्गे गेनाब्रीले गोल गरेपछि खेल बार्यनले १–३ ले जित्यो । अब यो जितपछि बार्यन १६ खेलबाट ३० अंक जोडेर तेस्रो स्थानमा चढेको छ । बार्यन लिग लिडर आरबी लेपजिगभन्दा मात्रै ४ अंकले पछि छ । पराजित फ्रेवर्ग २५ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०८:३४
Loading...