युभेन्टसको जितमा रोनाल्डोको ‘अविश्वसनीय’ हेडिङ गोल निर्णायक

काठमाडौं, पुस ३
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको निकै शानदार र अविश्वसनीय हेडिङ गोलको मदतमा युभेन्टसले इटालियन घरेलु लिग सिरी ए फुटबलमा महत्त्वपूर्ण जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न लिगको १७औं खेलमा युभेन्टसले साम्पडोरियालाई उसकै घरमा १–२ ले रहायो ।

युभेन्टसको जितमा रोनाल्डोको गोल निर्णायक बन्यो । युभेन्टसले खेलको १९औं मिनेटमा पाउलो डिबालाको शानदार भली गोलबाट अग्रता लिएको थियो । एलेक्स सान्ड्रोले लामो दूरीबाट बक्समा झारेको बलमा डिबालाले वान टचमै भली प्रहार गर्दै बललाई शानदार ढंगले जाली चुमाएका थिए ।

त्यसपछि घरेलु टोली खेलको ३५औं मिनेटमा खेलमा फर्कियो । उसका लागि जियानलुका कापारीले बक्स भित्रबाट कडा प्रहारमा गोल गरेका थिए । उनले युभेन्टसको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै गाल गरेका थिए ।

तर, पहिलो हाफको अन्तिम ४५औं मिनेटमा भ्रमणकारी टोली युभेन्टसका लागि रोनाल्डोले जादुयी गोल गरे । अघिल्लो गोलमा जस्तै सान्ड्रोले नै लामो दूरीबाट उस्तै गरी बक्समा दिएको हाई पासमा बक्समा पुगेका रोनाल्डोले साम्पडोरियाका दुईजना डिफेन्डरका बीचबाट निकै उचाइमा उफ्रिएर हानेको कडा हेडिङ प्रहारले सोझै जाली चुम्यो । रोनाल्डोको बुलेट हेडिङ प्रहार साम्पडोरियाका गोलकिपरले रोक्न भेउ समेत पाएनन् । रोनाल्डोले यति माथिसम्म जम्प हाने कि, त्यो निकै असामान्य थियो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि खेल युभेन्टसले जित्यो । यो जितपछि युभेन्टस १७ खेलबाट ४२ अंक जोडेर शीर्ष स्थानमा चढेको छ । उसले एक खेल कम खेलेको मिलानलाई ३ अंकले पछि छाडेको छ ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०२:०४
Loading...