आज राति मेस्सीले एकसाथ पूरा गर्न सक्छन् यी दुई कोसेढुंगा

काठमाडौं, पुस २
युरोपियन क्लब फुटबलमा सबैभन्दा चर्चित र ठूलो भिडन्तका रूपमा लिइने स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिडबीचको ‘इएल क्लासिको’ भिडन्त आज राति हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आज राति नेपाली समयअनुसार ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । आज राति घरेलु मैदानमा खेल्दा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले दुई महत्त्वपूर्ण कोसेढुंगा पूरा गर्न सक्नेछन् ।

इएल क्लासिकोमा २०औं जित

इएल क्लासिको भिडन्तमा थुप्रै रेकर्ड बनाएका मेस्सीसँग आज रियल मड्रिडविरुद्ध खेल्दा २०औं जितको स्वाद चाख्ने अवसर छ । मेस्सीले हालसम्म रियललाई १९ पटक हराएका छन् । अर्थात्, बार्सिलोनाले रियललाई हराउँदा १९ खेलमा मेस्सी सहभागी छन् ।

यदि आज राति क्याम्प नोउमा बार्सिलोनाले रियलमाथि स्पष्ट जित निकाले मेस्सीका लागि भने यो २०औं जित हुनेछ, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हुनेछ । मेस्सीले रियलविरुद्ध हालसम्म कूल २६ गोल गरेर १४ गोलमा असिस्ट गरेका छन् ।

वर्ष २०१९ मा ५० गोल पूरा

आज राति आफ्नो घरमा खेल्दा मेस्सीले कम्तीमा १ गोल गरे उनले वर्ष २०१९ मा कूल ५० गोल पूरा गर्नेछन् । उनले हालसम्म देश र क्लबका लागि गरी गरेको कूल गोल संख्या ४९ छ । यसअघि ५० गोल जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीले नघाइसकेका छन् ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार २०:५७
Loading...