४२ वर्षको उमेर ‘नो प्रोब्लेम’ : युभेन्टससँग सम्झौता लम्ब्याउँदै बुफोन

एजेन्सी, पुस २
इटालियन क्लब युभेन्टसका भेट्रान गोलकिपर जियानलुइजी बुफोन चाँडै ४२ वर्षका हुँदैछन् । तर, उनले अहिले नै फुटबल बिसाउनेबारे सोचेका छैनन् । उनी क्लबसँग अझै एक सिनजका लागि सम्झौता लम्बयाउन तयार हुनुले यो देखाउँछ ।

४१ वर्षका बुफोनको हालको सम्झौता जारी सिजन सकिएसँगै सकिनेछ । तर, उनले सो सम्झौता सकिनुअघि थप एक सिजन सम्झौता बढाउने तयारी गरेका छन् । इटालियन मिडियाका अनुसार बुफोन र क्लबबीच सिजन २०२०–२१ सम्म सम्झौता नवीकरण गर्ने गरी समझदारी बनेको खबर छ ।

करिअरको अधिकांश समय युभेन्टसमा बिताएका बुफोनले आज राति कीर्तिमानी खेल खेल्दैछन् । युभेन्टसले अवे मैदानमा साम्पडोरियासँग खेल्दा बुफोनले सिरी ए इतिहासमै सर्वाधिक ६५७औं खेल खेल्नेछन्, जुन पाओलो माल्दिनीको रेकर्डसँग बराबरी हुनेछ ।

जारी सिजन बुफोनले घरेलु लिगमा ६ खेल खेलेका छन् । आज राति पनि युभेन्टसको पोस्ट बुफोनले नै सम्हाल्नेछन् । बुफोन आगामी जनवरीबाट ४२ वर्ष लाग्दैछन् ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार १७:०४
Loading...