इएल क्लासिको : मेस्सीका नाममा बन्न सक्छ यस्तो ‘खराब’ रेकर्ड

एजेन्सी, पुस २
स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिडबीच हुने चर्चित खेल ‘इएल क्लासिको’मा बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीको निकै शानदार रेकर्ड छ । उनी बार्सिलोनाबाट आफ्नो खास प्रतिस्पर्धी टिमविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी मात्रै नभएर सर्वाधिक असिस्ट गर्ने खेलाडी पनि हुन् ।

३२ वर्षीय मेस्सीले रियलविरुद्ध हालसम्म कूल २६ गोल गरेका छन् भने कूल १४ असिस्ट पनि गरेका छन्, जुन कीर्तिमानी हो । अक्सर रियलविरुद्ध मेस्सी आफ्नो टिमका लागि नायक र विपक्षीका लागि भिलेन साबित हुँदै आएका छन् ।

तर, आज राति आफ्नो घरमा रियलसँग भिड्दा मेस्सीका नाममा एक खराब रेकर्ड बन्न सक्छ– सबैभन्दा लामो गोल र असिस्टबिनाको यात्रा । हो, मेस्सीले रियलविरुद्ध खेलेका पछिल्ला ४ खेलमा गोल र असिस्ट दुवै गर्न सकेका छैनन् ।

यदि आज राति पनि मेस्सीले रियलविरुद्ध गोल र असिस्टमध्ये कुनै एक गर्न नसके उनको करिअरमा रियलविरुद्ध ‘सबैभन्दा लामो गोल र असिस्टबिनाको यात्रा’ को खराब रेकर्ड हुनेछ ।

हालसमम मेस्सीले जम्मा दुईपटक मात्रै चार खेलसम्म गोल वा असिस्ट गर्न नसकेको रेकर्ड छ । तर, पाँच खेलसम्म उनले गोल वा असिस्ट कुनै एक पनि गर्न नसकेको रेकर्ड भने छैन ।

तसर्थ, आज राति क्याम्प नोउमा उत्रिँदा मेस्सीले गोल वा असिस्टमध्ये कुनै एक गर्न नसके उनका नाममा रहेका थुप्रै शानदार र अपत्यारिला रेकर्डहरूबीच एक खराब रेकर्ड बन्नेछ ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार १५:३५
Loading...