रोनाल्डोसँग एकै क्लबबाट खेल्नु मेरो सपना : फेलिक्स

एजेन्सी, चैत २४
स्पेनिस एथ्लेटिको मड्रिड तथा पोर्चुगलका युवा स्टार जुआओ फेलिक्सले क्रिस्टियानो रोनाल्डोसँग क्लब फुटबलमा पनि सँगै खेल्नु आफ्नो जीवनको सपना रहेको बताएका छन् । पोर्चुगलको राष्ट्रिय टोलीमा रोनाल्डोका सहकर्मी रहेका १९ वर्षीय फेलिक्सले रोनाल्डो आफ्नो आइडल खेलाडी रहेको बताउँदै उनीसँग सँगै खेल्नु सधैंको सपना रहेको बताएका हुन् ।

हालै वर्ष २०१९ का लागि गोल्डेन ब्वाई अवार्ड थापेपछि फेलिक्सले अन्तर्वार्तामा यस्तो भनाइ राखे । ‘म क्रिस्टियोनासँग एकै क्लबबाट खेल्न चाहन्छु । किनभने, उनी लिजेन्ड हुन् । र, मेरा आइडल हुन्,’ फेलिक्सले भनेका छन् ।

फेलिक्सले यदि रोनाल्डोसँग सँगै खेल्न पाए सपना पूरा हुने र नपाए अधुरै रहने पनि बताए । ‘भविष्यमा जे पनि हुन सक्छ । क्लबमा पनि उनीसँगै खेल्न पाए मेरो सपना पूरा हुनेछ, नत्र अधुरो सपना बनेर रहिरहनेछ,’ फेलिक्सले आफ्नो देशका सर्वाधिक गोलकर्ता खेलाडीबारे भनेका छन्, ‘म उनको तहमा पुग्न सक्दिनँ । तर, उनीजस्तै बन्ने सपना छ ।’

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार ०५:४२
Loading...