यस्तो छ ‘रियल मड्रिडलाई हराउने’ मेस्सीको योजना

एजेन्सी, पुस २
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोना र रियल मड्रिडबीच हुने सिजनको पहिलो इएल क्लासिको भिडन्त आज राति हुँदैछ । विश्व क्लब फुटबलमै सर्वाधिक चर्चामा रहने यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

सो खेलअघि बार्सिलोनाका कप्तान लिओनल मेस्सीले रियललाई कसरी हराउन सकिन्छ भन्नेबारे बताएका छन् । अघिल्लो दिन २०१९ का लागि पिचिची अवार्ड थापेपछि ‘मार्सा’सँग कुरा गर्दै मेस्सीले यस खेलबारे सटिक भनाइ राखे । मेस्सीले रियल मड्रिडलाई घरमा हराउनैपर्ने दबाब आफूहरूमाथि हुने बताए । ‘क्लासिको दुवै टोलीका लागि उत्तिकै दबाबपूर्ण हुन्छ । तर, यसपटक हामी हाम्रो घरमा खेल्दैछौं । घरेलु टोली भएकाले हामीमाथि जितको बढी दबाब हुन्छ नै,’ मेस्सीले भनेका छन्, ‘मलाई लाग्छ, हामी उत्कृष्ट प्रदर्शन गरेर फ्यानहरूलाई खुसी बाँड्न पाउनेछौं ।’

मेस्सीले बार्सिलोना र रियल दुवैलाई एकअर्काको खेल्ने तरिका थाहा भएकाले दुवै टोलीले सामान्य तरिकाले नै खेल्ने बताए । ‘उनीहरू कस्तो खेल्छन्, त्यो हामीलाई थाहा छ । हामी कस्तो खेल्छौं, त्यो पनि उनीहरूलाई थाहा छ,’ मेस्सीले भने, ‘तसर्थ हामी आफ्नै शैलीको खेल खेल्नेछौं । क्लासिको खेल्ने शैलीमा तपाईं फरक कुरा पाउन सक्नुहुन्न ।’

मेस्सीले क्याम्प नोउमा रियल मड्रिडले रक्षात्मक खेल्ने बताए । ‘जब हामी सान्टियागो बेर्नाबेउमा जान्छौं, उनीहरूले हामीलाई बढी आक्रमण गर्छन् । किनभने, उनीहरू घरेलु टोली हुन् । र, उनीहरूलाई दर्शकको दबाब हुन्छ । तर, जब उनीहरू क्यामप नोउ आउँछन्, फरक शैलीले खेल्छन् । उनीहरू बढी पछाडि झर्छन् र रक्षात्मक रणनीति लिन्छन् । किनभने, हामी घरमा उनीहरूलाई बढी आक्रमण गर्छौं । र, उनीहरू बढी दबाबमा पर्छन्,’ मेस्सीले थपे ।

मेस्सीले क्लासिकोलाई लिएर कुनैै खास योजना आफ्नो टिमसँग नहुने बताए । ‘हामीसँग कुनै खास योजना छैन । हामी टिमका रूपमा खेल्छौं । यो जित दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ । उनीहरूलाई गत सिजनको हारबाट दुखेको हुनुपर्छ । र, भोलि हामीलाई त्यस्तै चोट दिन उनीहरूले प्रयास गर्नेछन् । तर, हामी आफ्नो घरमा खेल्दा बलियो स्थितिमा हुनेछौं । किनभने, हामीलाई हाम्रा दर्शकले अर्कै वातावरण बनाइदिन्छन् । हामी पुनः एक सुन्दर रात बनाउन यो खेल खेल्नेछौं ।’

प्रकाशित मिति २ पुष २०७६, बुधबार १३:५९
Loading...