बुन्डेसलिगा : नाटकीय खेलमा डर्टमुन्ड र लेपजिगको बराबरी

काठमाडौं, पुस २
जर्मन लिग बुन्डेसलिगामा उपाधि दाबेदार बोरुसिया डर्टमुन्ड र आरबी लेपजिगले नाटकीय बराबरी खेलेका छन् । गत राति भएको खेलमा दुवै टिमले ३–३ को बराबरी खेल्दै अंक बाँडे ।

आफ्नो घरेलु मैदानमा उत्रिएको डर्टमुन्डले २ गोलको सहज अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । दोस्रो हाफमा पाहुना टोली लेपजिगले उत्कृष्ट पुनरागमन गरेको थियो ।

डर्टमुन्डका लागि खेलको २३औं मिनेटमा जुलियन वेगीले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३४औं मिनेटमा जुलियन ब्रान्डल्टले गोल गरेपछि पहिलो हाफमा डर्टमुन्ड २–० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा लेपजिग सफलतापूर्वक खेलमा फर्कियो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै टिमो वार्नरले गोल गरे । त्यसको ५ मिनेटमा वार्नरले नै व्यक्तिगत दोस्रो गोल गरेर खेल २–२ बनाए ।

तर, बराबरी गोल खाएको २ मिनेटकै घरेलु टोली डर्टमुन्डले तेस्रो गोल गर्दै पुनः खेलमा अग्रता बनायो । सो गाल जोर्डन सान्चोले गरेका थिए । तर, खेलको ७७औं मिनेटमा लेपजिग फेरि खेलमा फर्कियो । पाट्रिक स्यासिकले गोल गरेसँगै खेल ३–३ मा आयो । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा सकियो ।

अब यो बराबरीसँगै डर्टमुन्डले १६ खेलबाट ३० अंक जोडेर तेस्रो स्थानमा छ । लेपजिग समान खेलबाट ३४ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार ०७:५२
Loading...