एस्टोन भिल्लाद्वारा लिभरपुलको ‘रामधुलाइ’ : लिग कपबाट आउट !

काठमाडौं, पुस २
युरोपियन च्याम्पियन्स लिगको साबिक विजेता लिभरपुल इंग्लिस लिग कप फुटबलमा लज्जास्पद हार भोग्दै आउट भएको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा लिभरपुललाई घरेलु लिगको प्रतिस्पर्धी टोली एस्टोन भिल्लाले ५–० को लज्जास्पद हार चखाउँदै प्रतियोगिताबाटै आउट गराएको हो ।

आज (बुधबार) राति क्लब विश्वकप फुटबलमा सेमिफाइनल खेलको तयारीमा रहेको लिभरपुलले लिग कपका लागि युवा खेलाडीको टोली खेलाएको थियो । तर, भिल्लाले प्रिमियर लिगको लिग लिडर टिमको रामधुलाइ गर्दै आफू भने सेमिफाइनल पुग्यो । यो हारले लिभरपुललाई ठूलो झट्का लागेको छ ।

आफ्नो घरेलु रंगशालामा भएको खेलमा एस्टोन भिल्लाका लागि खेलको १४औं मिनेटमा कोनर होउरीहानेले फ्रि किकमार्फत् निकै शानदार गोल गरेका थिए । त्यसको ३ मिनेटमै लिभरपुलले आत्मघाती गोल हान्यो । सो गोल मोर्गान बोइजले गरेका थिए ।

त्यसपछि खेलको ३७औं मिनेटमा जोननाथ कोडिजाले टिमका लागि तेस्रो गोल हाने । उनले लिभरपुलका गोलकिपरलाई बिट गर्दै सजिलै गोल गरेका थिए । फेरि पहिलो हाफको अन्तिम मिनेटमा कोजिडाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमा ४–० ले अघिर रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीले पाँचौं गोल थप्यो । थपिएको समयको दोस्रो मिनेटमा वेस्ले मोराएजले गोल गरेपछि खेल एस्टोनले ५–० ले जित्यो । अब यो जितसँगै एस्टोन भिल्ला प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ भने लिभरपुल प्रतियोगिताबाटै आउट भएको छ ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार ०७:३०
Loading...