बार्सिलोनालाई नापोलीका नयाँ प्रशिक्षकको कडा चुनौती

एजेन्सी, पुस १
यसपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्पेनको क्लब बार्सिलोना र इटालीको क्लब नापोलीको भिडन्त हुनेछ भएको छ । आफ्नो ड्र बलियो टिम बार्सिलोनासँग परेपछि नापोलीका नयाँ प्रशिक्षक गेन्नारो गाटुसोले सो खेलबारे बताएका छन् ।

इटालियन गाटुसो ३ दिनअघि मात्रै नापोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन् । अघिल्ला प्रशिक्षक कार्लेस एन्सेलोट्टी बर्खास्तमा परेपछि क्लबले उनलाई प्रमुख प्रशिक्षक बनाएको छ ।

गाटुसोले अन्तिम १६ मा नापोलीको प्रतिस्पर्धी बार्सिलोना पर्नुलाई सामान्य भनेका छन् । उनले बार्सिलोना प्रतिस्पर्धी पर्न सक्नेबारे आफूलाई थाहा भएको बताउँदै आफूहरू मानसिक रूपमा तयार रहेको बताए । गाटुसोले बार्सिलोनाविरुद्ध आफूहरू ‘बिनाडर’ खेल्ने पनि बताए ।

‘म यहाँ भर्खर आएको छु । तर, यो खेलका लागि हामीसँग प्रशस्तै समय छ । हामीले बार्सिलोना प्रतिस्पर्धी पाउँदा आश्चार्यमा परेका छैनौं,’ गाटुसोले भनेका छन्, ‘हामी उनीहरूविरुद्ध बिनाडर खेल्ने छौं । उनीहरूलाई सजिलै जित्न दिनेछैनौं ।’

गाटुसोले यस खेलमा आफूहरूभन्दा बार्सिलोनामाथि बढी दबाब हुने पनि बताए । ‘जब हामी यो खेल खेल्न लाग्छौं, हामीलाई भन्दा बढी दबाब बार्सिलोनालाई हुनेछ । किनभने, उनीहरू उपाधि जित्न चाहन्छन् । तर, उनीहरूको बाटोमा नापोली हुनेछ । हामी यस खेलमा उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ गाटुसोले भने ।

प्रकाशित मिति १ पुष २०७६, मंगलवार २१:४८
Loading...