अन्तिम १६ मा नापोली परेपछि बार्सिलोनाका प्रशिक्षकको यस्तो प्रतिक्रिया

एजेन्सी, पुस १
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रतियोगिताका दुई बलिया टिम स्पेनिस बार्सिलोना र इटालियन क्लब नापोलीको भिडन्त हुने भएको छ । पछिल्ला चार सिजन प्रतियोगिताको फाइनल नपुगी आउट हुँदै आएको बार्सिलोनालाई यसपटक फेरि अन्तिम १६ बाट अघि बढ्नै चुनौतीपूर्ण देखिएको छ । किनभने, लिओनल मेस्सीको टिमका लागि नापोली सहज प्रतिस्पर्धी पक्कै होइन ।

हाल नापोली घरेलु लिगमा राम्रो अवस्थामा छैन । तर, च्याम्पियन्स लिगमा उसले निकै राम्रो गरिरहेको छ । समूह चरणमै उसले साबिक विजेता लिभरपुललाई आफ्नो घरमा २–० को नमिठो हार चखाएको थियो भने लिभरपुलको घरमा १–१ को बराबरीमा राकेको थियो । द्रूत आक्रमणपंक्ति र मजबुत रक्षापंक्ति भएको नापोली बार्सिलोनाका लागि तगारो बन्ने सभावना प्रबल छ ।

यही सोचाइ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको पनि छ । नापोलीलाई अन्तिम १६ मा पाएपछि उनले मिडियासँग प्रतिक्रिया दिँदै यस ड्रलाई ‘खतरनाक’ भनेका छन् । उनले नापोली निकै बलियो टोली रहेको बताउँदै यो खेल दुवै पक्षका लागि चुनौतीपूर्ण हुने बताएका छन् ।

‘नापोली एक खतरनाक टिम हो । उनीहरू अहिले उत्कृष्ट स्तरमा छैनन् । तर, मेरो विचारमा यो अन्तिम १६ को सबैभन्दा कठिन ड्र हो । हामी उनीहरूको घरमा पहिलो लेग खेल्न जाँदा त्यहाँ एक फरक वातावरण हुनेछ,’ भाल्भर्डेले भनेका छन्, ‘तपाईं यो कहिल्यै थाहा पाउन सक्नुहुन्न कि, खेलको समयमा दुई टिम कुन अवस्थाबाट आउँछन् ।’

भाल्भर्डेले अघि थपे, ‘उनीहरूको आक्रमण पंक्तिमा निकै राम्रा खेलाडी छन्, मार्टिन्स र इन्सिग्नेजस्तो । अमेरिकाको प्रि–सिजनमा उनीहरूले आफ्नो स्तर निकै राम्रोसँग देखाएका थिए । मलाई यति थाहा छ, उनीहरू उच्च स्तरको खेल खेल्न सक्छन् ।’

भाल्भर्डेले इटालियन टिमविरुद्ध खेल्न सधैं कठिन हुने पनि बताए । ‘इटालियन टिमसँग सबैभन्दा राम्रो रक्षापंक्ति हुन्छ । उनीहरूको प्रमुख शक्ति नै यही हो । उनीहरूले गोल कम गर्छन् भने गोल पनि कम नै खान्छन्,’ भाल्भर्डेले भने, ‘यस्तो टिमविरुद्ध १–० ले पछि परे खेलमा फर्किन कठिन हुन्छ ।’

बार्सिलोना पछिल्ला चार सिजन लगातार च्याम्पियन्स लिगबाट आउट हुँदा २०१६ र २०१७ मा इटालियन टिमसँगै हारेको थियो । फेरि यसपटक अन्तिम १६ मै इटालियन टिम पर्दा बार्सिलोनाको पुरानै कथा दोहोरिन्छ कि नयाँ कथा लेखिन्छ भन्नेमा धेरैको चासो छ ।

बार्सिलोनाले अन्तिम १६ को पहिलो खेल फेब्रुअरी २५ मा नापोलीको घरमा खेल्नेछ । त्यसपछि दोस्रो लेग अर्को साता आफ्नो घरमा खेल्नेछ ।

प्रकाशित मिति १ पुष २०७६, मंगलवार १२:५०
Loading...