अन्तिम १६ मै रियल मड्रिडसँग पर्नु कठिन : ग्वार्डिओला

एजेन्सी, पुस १
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रतियोगिताका सबैभन्दा बलियामध्येका दुई ठूला टिम स्पेनिस रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी परेका छन् । यसलाई अन्तिम १६ कै सबैभन्दा कडा ड्र मानिएको छ । किनभने, सिटी र रियल दुवै प्रमुख उपाधि दाबेदार टिम हुन् । र, यसपटक उनीहरूमध्ये एक टिम अन्तिम १६ बाटै बिदा हुनेछ ।

अन्तिम १६ मा आफूहरूको भेट कीर्तिमानी १३ पटक च्याम्पियन्स लिग जितेको रियलसँग परेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रतिक्रिया दिएका छन् । उनले यस खेललाई ‘प्रतियोगिताकै सबैभन्दा कठिन ड्र’ भनेका छन् । ‘हामी बलियो टोलीसँग पर्छौं भन्ने हामीलाई थाहा थियो । तर, रियल मड्रिडलाई अन्तिम १६ मै चाहेका थिएनौं,’ ग्वार्डिओलाले भने, ‘मलाई लाग्छ, यो ड्र प्रतियोगिताकै सबैभन्दा कठिन र रोमाञ्चक हो ।’

ग्वार्डिओलाले रियल यस प्रतियोगितामा अनुभवी टिम भएकाले उनीहरूसँग खेल्न कठिन हुने बताए । ‘उनीहरूले यस प्रतियोगितामा निकै राम्रो अनुभव बटुलेका छन् । उनीहरू पछिल्ला चार सिजनमध्ये तीन सिजनका च्याम्पियन नै हुन्,’ ग्वार्डिओलाले भने, ‘यस्तो टिम जो कोहीका लागि चुनौतीपूर्ण हुन्छ । तर, हामी उनीहरूसँग खेल्न तयार छौं ।’

यसपटक सिटी र रियलको खेललाई सन् २०१६ को सेमिफाइनलको खेलका रूपमा हेरिएको छ । त्यसबेला रियलले सिटीलाई हराएर फाइनल पुगेको थियो भने उपाधि पनि जितेको थियो ।

प्रकाशित मिति १ पुष २०७६, मंगलवार १२:०१
Loading...