फेलिक्सलाई युरोपकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं, पुस १
स्पेनिस क्लब एथ्लेटिको मड्रिड तथा पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सले वर्ष २०१९ का लागि गोल्डेन ब्वाई अवार्ड ग्रहण गरेका छन् । गत राति इटालीमा एक कार्यक्रमबीच उनले सो अवार्ड थापेका हुन् । युरोपियन लिगबाट २१ वर्षभन्दा मुनि उमेरका वर्षको सर्वोत्कृष्ट युवा खेलाडीलाई दिइने सो अवार्डमा यसै सिजन स्पेनिस लिगमा प्रवेश गरेका फेलिक्सले बाजी मारेका हुन् ।

अस्ति भर्खरको समर सिजनमा फेलिक्सलाई एथ्लेटिकोले पोर्चुगिज क्लब बेनफिकाबाट १२६ मिलियन युरोमा अनुबन्ध गरेको थियो । स्पेन आएपछि सुरुआतबाटै शानदार प्रदर्शन गरेका उनले अन्ततः प्रतिष्ठित अवार्डमा पनि बाजी मारे ।

यो अवार्ड इटालीको पत्रिका ‘टुटो स्पोर्टस्’ दिने गर्छ । यस संस्करणको अवार्ड आगामी गत मंसिर ११ गते नै घोषणा भएकोमा अवार्ड भने गत राति वितरण गरिएको हो ।

फेलिक्सले अवार्ड जित्नेक्रममा कूल ३३२ भोट पाए । उनीपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस खेलाडी जोर्डन सान्चोले १७५ भोट पाउँदा जर्मन क्लब बायर लेभरकुसेनका काई हाभर्टनले ७५ भोट पाए । पहिलो नम्बरको भोटका लागि कूल ४० मध्ये २५ भोट फेलिक्सलाई मात्रै झरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति १ पुष २०७६, मंगलवार ०६:४४
Loading...