हारको मुखमा पुगेको रियल मड्रिडको अन्तिम मिनेटमा नाटकीय बराबरी !

काठमाडौं, मंसिर ३०
सिजनको पहिलो इएल क्लासिकोअघि स्पेनिस रियल मड्रिड हारबाट मुस्किलले बचेको छ । गत राति अवे मैदानमा भएको भ्यालेन्सियाविरुद्धको खेलमा रियलले खेलको इन्जुरी समयमा गोल गर्दै हार पन्छाएको हो । रियलका लागि थपिएको समयको अन्तिम ५ सेकेन्ड बाँकी छँदा करिम बेन्जेमाले गोल गरे । तर, सो गोलका सबैभन्दा ठूलो योगदान भने रियलका गोलकिपर थिबाउट कोर्टुवाको रह्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दुवै टोलीले केही सुन्दर अवसर बनाए पनि गोल निस्कन सकेन । तर, खेलको ७८औं मिनेटमा घरेलु टोली भ्यालेन्सियाका लागि कार्लोस सोलरले बक्स भित्रबाट क्रस पासमा कडा प्रहार गर्दै बललाई जाली चुमाएपछि भ्यालेन्सिया जिततर्फ अघि बढेको थियो ।

गोल खाएपछि पटक–पटक गोलका लागि अवसर बनाएको रियल लगातार चुकिरह्यो । तर, ९० मिनेटपछि थपिएको ५ मिनेटको समयको अन्तिम केही सेकेन्ड बाँकी छँदा रियलले कर्नर पायो । सो कर्नर प्रहार गर्नेक्रममा रियलका गोलकिपर, डिफेन्डरसहित ११ जनै खेलाडी आफ्नो पोस्ट छाडेर भ्यालेन्सियाको बक्समा भेला भए ।

जसमा ग्यारेथ बेलले होनको कर्नर किक केही उचाइ लिएर बक्समा आएकोमा बक्समा तैनाथ रियलका गोलकिपर थिबाउट कोर्टुवाले आफ्नो उचाइको फाइदा उठाउँदै कडा हेडिङ गरे । तर, उनको हेडिङ प्रहार भ्यालेन्सियाका गोलकिपर रोके । र, रिबाउन्ड भयो । सोही बेला भीडको बीचबाट बेन्जेमाले कडा प्रहारमा बललाई पोस्टको दिशा दिएपछि रियल नाटकीय रूपमा हारबाट बच्यो । र, खेल १–१ मा सकियो ।

अब यो बराबरीसँगै रियलले महत्त्वपूर्ण १ अंक जोड्न सफल भएको छ । तर, यदि जितेको भए ऊ बार्सिलोनालाई पछि पार्दै लिगको शीर्ष स्थानमा चढ्ने थियो । अब रियल १६ खेलबाट ३५ अंक बनाएर दोस्रो स्थानमा छ । समान अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ । भ्यालेन्सिया २७ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति ३० मंसिर २०७६, सोमबार ०७:५२
Loading...