रोनाल्डिन्होले गरे च्याम्पियन्स लिग विजेताको भविष्यवाणी

काठमाडौं, पुस ४
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को समीकरण पूरा भएको छ । प्रतियोगिताका अधिकांश ठूला र हेभिवेट टिम अन्तिम १६ मा पुगेका छन् । यसपटक प्रतियोगिताका केही ठूला टिम अन्तिम १६ मै भिड्ने भएका छन् । यसपटक च्याम्पियन्स लिगको च्याम्पियन को बन्ला ? यसबारे ब्राजिलका लिजेन्ड खेलाडी रोनाल्डिन्होले भविष्यवाणी गरेका छन् । हालै एक अन्तर्वार्ताक्रममा उनले च्याम्पियन्स लिग कसले जित्न सक्छ भन्ने विषयमा आफ्नो अनुमान राखेका छन् ।

रोनाल्डिन्होले यसपटक च्याम्पियन्स लिगमा इंग्ल्यान्ड, इटाली र फ्रान्सका टिमको प्रमुख दाबेदारी रहने बताएका छन् । उनले प्रिमियर लिगबाट साबिक विजेता लिभरपुल र म्यानचेस्टर सिटी, सिरी ‘ए’को युभेन्टस र लिग वानको पिएसजीमध्ये कुनै एकले उपाधि जित्न सक्ने बताए । ‘मेरो नजरमा यसपटक चार टिम उपाधि होडमा हुनेछन्, लिभरपुल, म्यानचेस्टर सिटी, युभेन्टस र पिएसजी,’ रोनाल्डिन्होले भने, ‘उनीहरूमध्ये एकले उपाधि जित्न सक्छन् ।’

रोनाल्डिन्होले स्पेनको बार्सिलोनासँग विश्वकै उत्कृष्ट खेलाडी भए पनि उनीहरू अहिले ठूला प्रतियोगिता जित्ने लयमा नरहेको बताए । ‘तपाईं बार्सिलोनाको विषयमा सोध्नुहुन्छ भने, उनीहरू अहिले ठूला उपाधि जित्ने अवस्थामा छन् भन्ने मलाई लाग्दैन । किनभने, पछिल्ला चार वर्ष उनीहरूले जसरी बिताए, उनीहरू अहिले पनि त्योभन्दा माथि उठेका छैनन्,’ रोनाल्डिन्होले पूर्वक्लबबारे भने, ‘उपाधि जित्न तपार्ईंको टिममा सुपरस्टार खेलाडी भएर मात्रै पुग्दैन, त्योभन्दा बढी सामूहिक बल र प्रदर्शन आवश्यक हुन्छ ।’

रोनाल्डिन्होले युभेन्टसका क्रिस्टियानो रोनाल्डोबारे पनि भनाइ राखे । युभेन्टसलाई रोनाल्डोले च्याम्पियन्स लिग जिताउन सक्ने बताए । ‘म यो सम्भावनालाई नकार्न सक्दिनँ । किनभने, क्रिस्टियानो यस्ता खेलाडी हुन्, जो टिमलाई आवश्यक परेका बेला धेरै कुरा दिन सक्छन् । र, निर्णायक बन्छन्,’ बार्सिलोनाका लिजेन्ड खेलाडीले भने, ‘यदि उनले युभेन्टसलाई च्याम्पियन्स लिग जिताए पनि म आश्चार्यमा पर्नेछैन । किनभने, उनी त्यहाँ गएकै यसका लागि हुन् ।’

प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार १३:४२
Loading...