काठमाडौं, मंसिर २९
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले अर्को जित निकालेको छ । आइतबार भएको लिगको १७औं खेलमा टोटनह्यायमले उल्भ्सलाई उसकै घरेलु मैदानमा १–२ ले हरायो ।
अवे मैदानमा टोटनह्यामलाई जिताउन इन्जुरी समयमा जानभर्टनघेनले निर्णायक गोल गरेका थिए । त्यसअघि खेलको आठौं मिनेटमा लुकास मोउराले पाहुना टोलीका लागि पहिलो गोल गरेका थिए ।
तर, खेलको ६७औं मिनेटमा उल्भ्सका लागि अड्मा ट्राओरेले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि बराबरीतर्फ अघि बढेको खेलको इन्जुरी समयमा टोटनह्याम भाग्यमानी भयो । थपिएको समयको पहिलो मिनेटमा जानले गोल गरेपछि खेल टोटनह्यामले १–२ ले जित्यो ।
अब यो जितपछि टोटनह्यामले १७ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा छ । पराजित उल्भ्स २४ अंकसहित आठौं स्थानमा छ ।
यता, आइतबारै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड आफ्नै घरमा एभर्टनसँग बराबरीमा रोकियो । ३६औं मिनेटमा आत्मघाती गोल खाएर पछि परेको युनाइटेडका लागि खेलको ७७औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए ।
प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार २२:१४