रोनाल्डो चम्किएपछि युभेन्टसको सहज जित : उक्लियो शीर्ष स्थानमा

काठमाडौं, मंसिर २९
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले शानदार प्रदर्शन गर्दै २ गोल गरेपछि इटालियन युभेन्टसले घरेलु लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको लिगको १६औं खेलमा युभेन्टसले पाहुना टोली उडिनेसलाई ३–१ ले हरायो । आफ्नो घरेलु मैदानमा युभेन्टसलाई जिताउनेक्रममा रोनाल्डोले २ शानदार गोल गर्दा लियोनार्दो बोनुचीले १ गोल गरे । खेलको अन्तिम समयमा युभेन्टसले १ गोल खायो ।

युभेन्टसको जर्सीमा लामो समयपछि शानदार फर्ममा देखिएका रोनाल्डोले खेलको नवौं मिनेटमै सुन्दर गोल गरेका थिए । बक्सभित्रबाट उनले वान टचमै बललाई भुइँ बल प्रहार गर्दै घरेलु टोलीका लागि गोलको खाता खोलेका थिए । त्यसपछि खेलको ३७औं मिनेटमा रोनाल्डोले नै गोन्जालो हिगुइनको पासमा शानदार गोल गरे ।

लगत्तै पहिलो हाफको इन्जुरी सयममा बोनुचीले हेडिङमार्फत् गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । दोस्रो हाफमा सुरुआतबाटै ह्याट्रिक गोलको खोजीमा रहेका रोनाल्डोले दुई अवसर पाए । उनको एक प्रहार पोलमा लागेर फर्किंदा उनी ह्याट्रिकबाट चुकेका थिए ।

त्यसपछि खेलको ८७औं मिनेटमा रोनाल्डोले बक्सभित्राट हानेको शक्तिशाली प्रहार गोलकिपरले कठिन गरी रोकेपछि उनी दोस्रोपटक ह्याट्रिकबाट चुकेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा उडिनेसका लागि इग्नासियोले गोल गरेपछि खेल खेल युभेन्टसले ३–१ ले जित्यो ।

अब यो जितपछि युभेन्टस ३९ अंक बनाएर लिगको शीर्ष स्थानमा चढेको छ । उसले एक खेल कम खेलेको इन्टर मिलानलाई १ अंकले पछि पारेको छ । मिलानले आजै राति आफ्नो १६औं खेल खेल्दैछ । सो खेलमा मिलान विजयी भए ऊ पुनः शीर्ष स्थानमा उक्लिनेछ ।

आजको खेलको २ गोलसँगै रोनाल्डोले पछिल्ला ४ खेलबाट ५ गोल गरेका छन् । उनले जारी सिजन लिगमा १३ खेलबाट ९ गोल गरेका छन् ।

प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार २१:४०
Loading...