आज भ्यालेन्सिया र रियल मड्रिड भिड्दै : रियललाई शीर्ष स्थानमा चढ्ने मौका

काठमाडौं, मंसिर २९
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ । जसमा आज भ्यालेन्सिया र रियल मड्रिड आमनेसामने हुँदैछन् । रियल यो खेल खेल्न भ्यालेन्सियाको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा रियल १५ खेलपछि ३४ अंक बनाएर दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको बार्सिलोना ३५ अंकसहित शीर्ष स्थानमा छ । यदि आज राति रियलले स्पष्ट जित निकाले ऊ बार्सिलोनालाई २ अंकले पछि पार्दै लिग लिडर बन्नेछ । यता, आज रियललाई आफ्नो घरमा भित्र्याउन लागेको भ्यालेन्सिया १६ खेलपछि २६ अंक बनाएर आठौं स्थानमा रहेको छ ।

आजको तीन दिनपछि यो सिजनको पहिलो इएल क्लासिको भिडन्त हुँदैछ । सो खेलअघि रियल लिगको अर्को बलियो टोलीसँग भिड्दा उसका लागि यो खेल निकै महत्त्वपूर्ण हुनेछ । डिसेम्बर १८ मा बार्सिलोना र रियल मड्रिड क्याम्प नोउमा भिड्दैछन् ।

इएल क्लासिकोअघि बार्सिलोनाले गत राति रियल सोसिडाडसँग अंक बाँड्दा आज रियलले भ्यालेन्सियालाई हराएर त्यसको फाइदा उठाउन प्रयास गर्नेछ । त्यत्ति मात्रै हैन, आजको खेल जितेर रियल बार्सिलोनाविरुद्धको भिडन्तका लागि मानसिक रूपमा तयार रहन पनि चाहन्छ ।

आज रियलको टोलीमा अन्तर्राष्ट्रिय ब्रेकपछि चोटका कारण टोलीबाहिर रहँदै आएका वेल्स स्टार ग्यारेथ बेल टोलीमा फर्किएका छन् । त्यस्तै, करिम बेन्जेमा, लुका जोभिक, भिनिसियस जुनियर, रोड्रिगोलगायत खेलाडी टोलीमा हुँदा आज कप्तान सर्जियो रामोस पनि टोलीमा फर्किएका छन् ।

प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार १७:१०
Loading...