प्रिमियर लिगमा आज म्यानचेस्टर सिटी र आर्सनलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, मंसिर २९
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा तीन खेल हुँदैछन् । त्यसमा एक खेलमा आर्सनल र म्यानचेस्टर सिटीको रोमाञ्चक भिडन्त हुँदैछ । अर्को खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनको भिडन्त पनि हुँदैछ ।

आज हुने खेलमध्ये आर्सनल र सिटीको खेल आकर्षणको खेल हुनेछ । यो खेल आर्सनलको घरेलु मैदानमा राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

यो सिजन लिगमा खराब अवस्थामा रहेको सिटीका लागि आजको खेल ज्यादै महत्त्वपूर्ण छ । गत राति लिग लिडर लिभरपुलले आफ्नो खेल जितेर सिटीलाई १७ अंकले पछि छाडिसकेको छ । र, सिटीलाई अंक दूरी घटाउन पनि यो खेल जित्नैपर्ने दबाब छ ।

तर, आर्सनलले आज आफ्नो घरमा खेल्दा सिटीलाई कडा टक्कर दिने पक्का छ । यो सिजन आर्सनल ठीक लयमा छैन । तर, उसले अक्सर ठूला टोलीलाई सधैं समस्यामा पार्ने गरेको छ । आज आफ्नो घरमा साबिक विजेतालाई भित्र्याउँदा आर्सनल ३ अंक जोडेर टप–६ मा चढ्ने दाउमा छ ।

हाल सिटी १६ खेलपछि ३२ अंकसहित तेस्रो स्थानमा छ भने आर्सनल २२ अंकसहित नवौं स्थानमा छ । १७ खेल खेलेको लेस्टर सिटी ३९ अंकसहित दोस्रोमा हुँदा ४९ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार १२:०९
Loading...