बार्यनको फराकिलो जितमा कोउटिन्होको सनसनीपूर्ण प्रदर्शन : हाने ह्याट्रिक !

काठमाडौं, मंसिर २८
यसै समरमा स्पेनिस बार्सिलोनाबाट लोनमा अनुबन्ध भएका मिडफिल्डर फिलिपे कोउटिन्होले शानदार प्रदर्शन गर्दै सनसनीपूर्ण ह्याट्रिक हानेपछि बार्यन म्युनिखले घरेलु लिगमा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा बार्यनले वेर्डरलाई ६–१ ले हराउँदा कोउटिन्होले ३ गोल हाने भने रोवर्ट लेवान्डोस्कीले पनि २ गोल हाने ।

आजको खेलमा ब्राजिलियन कोउटिन्हो हिरो बने । उनले ह्याट्रिक गोल मात्रै गरेनन्, २ गोलमा असिस्ट पनि गरेर टिमको जितमा ठूलो योगदान दिए । बार्यनले पहिलो हाफमा पछि परेको अवस्था उल्टाएर २–१ को अग्रता लिएको थियो ।

पाहुना टोली वेर्डरले खेलको २४औं मिनेटमा गोल गरेर घरेलु टोलीलाई झट्का दिएको थियो । तर, पहिलो हाफको अन्तिम ४५औं मिनेटमा कोउटिन्होले गोल गरेर खेल १–१ बनाए । उनले गेनाब्रीको असिस्टमा गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बार्यनले दोस्रो गोल हान्यो । लेवान्डोस्कीले गरेको सो गोलमा कोउटिन्होले नै असिस्ट गरेका थिए । सो गोलपछि पहिलो हाफमा बार्यन २–१ ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा घरेलु टोली हाबी भयो । जहाँ ६३औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गरे । उनले अलाबाको पासमा गोल गरेका थिए । त्यसपछि ७२औं मिनेटमा लेवान्डोस्कीले थोमस मुलको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्यनले ४–१ को अग्रता बनायो ।

लगत्तै खेलको ७५औं मिनेटमा कोउटिन्होको पासमा थोमस मुलरले गोल गरेर अग्रता बढाए । त्यसछि खेलको ७८औं मिनेटमा कोउटिन्होले इभान पेरिसचिको पासमा गोल गोल गर्दै ह्याट्रिक पूरा गरेपछि खेल बार्यनले ६–१ ले जित्यो ।

अब यो जिपछि बार्यनले १५ खेलबाट २७ अंक जोड्दै चौथो स्थानमा उकिलएको छ । पराजित वेर्डर १४ अंकसहित १५औं स्थानमा छ । बार्यन अझै एक खेल कम खेलेको शीर्ष टोली मोन्चेङ्लाड्बाकभन्दा ४ अंकले पछि छ ।

प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार २२:५१
Loading...