काठमाडौं, मंसिर २८
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले साबिक विजेता म्यानचेस्टर सिटीलाई फराकिलो अन्तरले पछि छाडेको छ । शनिबार भएको लिगको १७औं खेलमा लिभरपुलले वाटफोर्डलाई २–० ले हराएपछि सिटी लिग लिडरभन्दा १७ अंकले पछि परेको हो । तर, सिटीले लिभरपुलभन्दा एक खेल कम खेलेको छ ।
शनिबार घरेलु मैदान एनफिल्डमा २०औं स्थानको पाहुना टोली वाटफोर्डविरुद्ध लिभरपुललाई जिताउन मोहमद सालाह नायक बने । २ वटै गोल उनैले गरे । उनले खेलको ३८औं मिनेटमा बक्स भित्रबाट वाटफोर्डका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । सो गोलमा साडियो मानेले असिस्ट गरेका थिए ।
त्यसपछि खेलको ९०औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल लिभरपुलले २–० ले जित्यो । यस खेलमा मानेको एक हेडिङ गोल र सालाहको एक सुन्दर ब्याक हिल गोल भिएआरले रद्द गरिदिएको थियो । अब यो जितपछि लिभरपुलले १७ खेलबाट कूल ४९ अंक जोडको छ । पराजित वाटफोर्ड ९ अंकसहित २०औं स्थानमा छ ।
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार २१:०५