सरुवा चर्चाबीच बार्सिलोनाविरुद्ध नेइमारले हाले अर्को मुद्दा !

एजेन्सी, मंसिर २८
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार गत समर सिजनबाटै पूर्वक्लब बार्सिलोना फर्किन प्रयासरत छन् । सन् २०१७ मा विश्वकीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोना छाडेका उनी विविध कारणले पिएसजीमा खुसी हुन सकेका छैनन् । र, उनी सक्दो चाँडो पेरिस छाड्न चाहन्छन् ।

यता, बार्सिलोनाका कप्तान लिओनल मेस्सीलगायत केही खेलाडी नेइमार फर्काउन क्लबलाई पैसा सहयोग गर्नसमेत तयार छन् । र, क्लबलाई नेइमार फर्काउन दबाब दिइरहेका छन् । केही समयअघि मेस्सीले त नेइमारलाई ‘आफूले चाँडै बार्सिलोना छाड्ने’ भन्दै नेइमार आएपछि उनले आफ्नो ठाउँ लिने विकल्प दिएर फर्किन अनुरोध गरेको खबर नै बाहिरिएको थियो ।

बार्सिलोना अझै पनि २७ वर्षीय नेइमारलाई पुनः क्याम्प नोउ उतार्न चाहन्छ । त्यसका लागि उसले आगामी समर सिजनमा अन्तिपटक प्रयास गर्नेछ । सरुवा बजारमा अहिले पनि नेइमार समरमा बार्सिलोना फर्किने प्रबल सम्भावना रहेको चर्चा छँदैछ ।

यस्तो अवस्थाबीच नेइमारले भने बार्सिलोनाविरुद्ध पुरानो हिसाब मिलान गर्न माग गर्दै पूर्वक्लबविरुद्ध दोस्रोपटक मुद्दा हालेका छन् । स्पेनिस मिडिया रिपोर्टअनुसार नेइमारले क्याम्प नोउ छड्नुअघि क्लबसँगको सम्झौताअनुार आफूले पाउनुपर्ने तलबबापतको केही रकम तत्कालै पाउनुपर्ने भन्दै क्लबविरुद्ध उजुरी हालेका हुन् । उनले तलबबापत ३५ लाख युरो रकम माग गरेका छन् ।

नेइमार बार्सिलोना फर्किने चर्चा बढिरहँदा गत समरमा यो कुरा ओझेलमा थियो । तर, पुनः सरुवा बजार खुल्न लागेसँगै नेइमारले मुद्दा हालेका हुन् । नेइमारले बार्सिलोना छाडेको दुई महिनामा बोनसबापतको रकम माग गर्दै त्यत्तिबेलै मुद्दा हालेका थि । सो मुद्दा अहिले पनि फैसला भएको छैन ।

बार्सिलोनाविरुद्धको यो मुद्दाले अब नेइमारको क्याम्प नोउ फिर्ती झन् समस्यामा पर्ने देखिएको छ । पछिल्लो समय नेइमारका एजेन्ट उनका पिता र बार्सिलोनाका अधिकारीबीच पुराना हिसाब र मुद्दा मिलाएर बाटो सहज बनाउन प्रयास भइरहेको भन्ने खबर अन्तर्राष्ट्रिय मिडियामा लगातार आइरहेका छन् ।

प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार १९:३६
Loading...