च्याम्पियन्स लिग जित्छौं भनेर म बाचा गर्दिनँ, जित्न प्रयास गर्नेछौं : भाल्भर्डे

एजेन्सी, मंसिर २८
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले युरोपियन च्याम्यिनस लिगको उपाधि जित्छौं भनेर आफूले बाचा नगर्ने बताएका छन् । शनिबार अवे मैदानमा रियल सोसिडाडसँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भाल्भर्डेले पत्रकारको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

अघिल्लो दिन रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पत्रकार सम्मेलनमा कुरा गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा साबिक विजेता लिभरपुल परे आफूहरूले आउट गराइदिने भन्दै चुनौती दिएका थिए । बार्सिलोनाका प्रशिक्षक भाल्भर्डेलाई पत्रकारले सोही सन्दर्भ जोड्दै च्याम्पियन्स लिगबारे प्रश्न गर्दा उनले नरम जवाफ दिए । अरूले जे जे भने पनि आफूले पहिल्यै बाचा गर्न नसक्ने बताए ।

‘अरूले के भन्छन् भन्ने कुराले मलाई अर्थ राख्दैन,’ भाल्भर्डेले हाँस्दै भने, ‘म च्याम्पियन्स लिग जित्छौं भनेर अहिले नै समर्थकहरूसँग बाचा गर्न सक्दिनँ । किनभने, यो प्रतियोगिता जित्न सजिलो छैन । हामी हाम्रा तर्फबाट सबैखाले प्रयास गर्नेछौं ।’

प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार १६:४५
Loading...