बार्सिलोना फर्किन नेइमारको यस्तो माग

एजेन्सी, मंसिर २७
स्पेनिस क्लब बार्सिलोनाले गत समर सिजनबाटै पूर्वखेलाडी ब्राजिलियन नेइमार अनुबन्ध गर्न चाहेको छ । सन् २०१७ मा बार्सिलोना छाडेर गएका नेइमार पनि विभिन्न कारणले पिएसजी छाड्न चाहन्छन् । र, उनका लागि बार्सिलोना अबको पहिलो गन्तव्यका रूपमा हेरिएको छ ।

हालै चोटबाट फर्किएर उत्कृष्ट प्रदर्शन गरिरहेका नेइमारले भने बार्सिलोना फर्किनका लागि एक माग राखेका छन् । त्यो हो– उनलाई बार्सिलोनाले दिन बाँकी ३.५ मिलियन युरो रकम दिनुपर्छ । स्पेनिस पत्रिका ‘एल मुन्डो’का अनुसार नेइमारले बार्सिलोनासँग आफ्ना लागि पिएसजीसँग प्रस्ताव गर्न पनि भनेका छन् ।

सन् २०१७ मा नेइमारले बार्सिलोना छाड्दा अन्तिम वर्षको पारिश्रमिकबापत केही रकम पाउन बाँकी थियो । तर, पछि बार्सिलोनाले नेइमारले धोका दिएको भन्दै सो रकम दिएन । र, पिएसजी पुगेपछि नेइमारले बार्सिलोनाविरुद्ध उजुरी नै दिएका थिए । अहिले नेइमार आत्मसम्मानका लागि भए पनि सो रकम प्राप्त गर्न चाहन्छन् ।

यता, पछिल्ला खबरअनुसार बार्सिलोनाका अधिकारी र नेइमारका पिताबीच सम्भावित सरुवाको विषयमा छलफल गर्न प्रयास भइरहेको छ । नेइमारका एजेन्ट उनका पिता स्वयं हुन् । हालै एक अन्तर्वार्ताक्रममा बोल्दै उनका पिताले बार्सिलोनासँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको बताउँदै आपसमा भएका केही समस्या (आर्थिक मुद्दा) समझदारीबाट सुल्झाउन सकिने बताएर नेइमारको बार्सिलोना फिर्तीलाई संकेत दिएका छन् ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार २०:४२
Loading...