क्लोपले लम्ब्याए सम्झौता : २०२४ सम्म लिभरपुलमै रहने

एजेन्सी, मंसिर २७
इंग्लिस क्लब लिभरपुलका प्रमुख प्रशिक्षक जोर्गेन क्लोपले क्लबसँग सम्झौता लम्ब्याएका छन् । आज क्लबले औपचािरक रूपमा जानकारी दिँदै क्लोपले सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरेको पुष्टि गरेको छ ।

५२ वर्षीय जर्मन प्रशिक्षक क्लोपले लिभरपुललाई गत सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका थिए । यस वर्ष लिभरपुलले युइएफए सुपर कपको उपाधिसमेत जितेको थियो ।

क्लोप सन् २०१५ को अक्टोबरमा लिभरपुलको प्रशिक्षकमा नियुक्त भएका थिए । क्लोप त्यसअघि सन् २००८ देखि २०१५ सम्म जर्मनीकै क्लब बोरुसिया डर्टमुन्डको प्रमुख प्रशिक्षक थिए ।

लिभरपुल अघिल्लो सिजन च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस रियल मड्रिडसँग पराजित भएको थियो । तर, गत सिजन लिभरपुलले सो उपाधिमा बाजी मार्दा प्रिमियर लिगमा भने उपविजेता मात्रै बन्यो ।

तर, जारी सिजन लिभरपुल निकै राम्रो अवस्थामा छ । ऊ समूह विजेता बनेर च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ भने प्रिमियर लिगमा पनि सहज अग्रतासहित लिग लिडर छ ।

यसपटक लिभरपुललाई घरेलु लिगका साथै च्याम्पियन्स लिगमा पनि प्रमुख दाबेदार मानिएको छ । लिभरपुलले यस सिजन पहिलो उपाधिका लागि क्लब विश्वकप खेल्दैछ ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १८:४८
Loading...