च्याम्पियन्स लिगमा बार्यनले बनाएका यी तीन ‘अपत्यारिला’ रेकर्ड

एजेन्सी, मंसिर २७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा यो सिजन जर्मन क्लब बार्यन म्युनिखले निकै शानदार प्रदर्शन गरिरहेको छ । समूह चरणका खेल र नतिजालाई हेर्दा बार्यन क्लब मात्रै नभएर च्याम्पियन्स लिगको इतिहासमै शानदार लयमा छ ।

समूह चरणका ६ वटै खेलमा शतप्रतिशत जित निकालेर अन्तिम १६ मा पुगेको बार्यनले यसपटक केही रेकर्ड बनाएको छ, जुन निकै अपत्यारिला लाग्छन् । युइएफएको अफिसियल वेबसाटइका अनुसार यसपटक समूह चरणका खेल सकिँदा बार्यनले तीन खास रेकर्ड बनाएको छ ।

पहिलो– समूह चरणमा शतप्रशित जित । च्याम्पियन्स लिगको इतिहासमा बार्यन यस्तो टिम बनेको छ, जसले समूह चरणका सबै खेलमा शतप्रतिशत जित निकालेको छ । उसले खेलेका होम र अवे गरी ६ वटै खेल जितेको हो । र, यस्तो पहिलोपटक भएको हो ।

दोस्रो– कीर्तिमानी अवे गोल । यसपटक समूह चरणमा बार्यनले गरेको गोलले पनि रेकर्ड बनाएको छ । उसले कूल २४ गोल गर्दा १६ गोल अवे खेलमा गरेको छ, जुन च्याम्पियन्स लिगको इतिहासकै सबैभन्दा बढी हो । यसअघि कुनै पनि टिमले समूह चरणका खेलमा यति धेरै अवे गोल गरेको थिएन ।

तेस्रो– इतिहासकै दोस्रो उच्च गोल संख्या । बार्यनले यस सिजन समूह चरणका खेलमा गरेको कूल गोल संख्या पनि कीर्तिमानी नै हो । बार्यनले ६ खेलबाट कूल २४ गोल गर्दा यो हालसम्मकै दोस्रो उच्च गोल संख्या बनेको छ ।

समूह चरणका खेल सकिँदा बार्यनका लागि पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की एक्लैले १० गोल गरे । ५ खेल खेलेका उनले १० गोल गरेका हुन् । उनी यो सिजन च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १७:३६
Loading...