नेपाली फुटबलमा फड्को  : ‘ए’ डिभिजन लिगलाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने

काठमाडौं, मंसिर २७
नेपालको शीर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार कतार एयरवेजसँग मुख्य प्रायोजनको दोहोरो सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिसकेको छ ।

अन्तर्राष्ट्रिय कम्पनीले नेपालको लिगलाई प्रायोजन गर्ने भएपछि यसलाई व्यावसायिक फुटबलका लागि ठूलो सफलताका रूपमा हेरिएको छ । महत्त्वपूर्ण सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कतार एयरवेजले अब एन्फालाई एक वर्षको १ लाख ५० हजार अमेरिकी डलर रकम प्रदान गर्नेछ । अब नेपालको लिग खेल्ने हरेक क्लबको जर्सीमा कतार एवेरवेजको जर्सी राखिनेछ । साथै, रंगशालामा पनि कतार एवेरवेजका बोर्ड राखिनेछ ।

यसरी नेपालको लिगका लागि विदेशको कम्पनीसँग व्यावसायिक सम्झौता भएको यो नै पहिलोपटक हो । यससअघि एन्फाले कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीसँग यस्तो सम्झौता गरेको थिए । कतार एयरवेजले यसअघि स्पेनिस बार्सिलोना, इटालियन रोमालगायत ठूला क्लबहरूलाई समेत प्रायोजन गरिसकेको छ ।

‘ए’ डिभिजन लिग भोलि (शनिबार) बाट सुरु हुँदैछ । लिगको उद्घाटन खेल मछिन्द्र फुटबल क्लब र ब्रिगेट ब्वाइज क्लबबीच हुनेछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भोलिबाट सुरु हुने लिग आगामी फागुन ३ गते सकिनेछ । यसपटक लिगमा कूल १४ टोली रहेका छन् । कूल ९१ खेल हुने लिगमा हरेक चरणमा ७ खेल हुनेछन् । यसपटक लिगमा मछिन्द्र फुटबल क्लब र विभागीय टिम आर्मी क्लबलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १७:२६
Loading...