एमबाप्पेद्वारा पिएसजीसँग सम्झौता नवीकरणको प्रस्ताव अस्वीकार

एजेन्सी, मंसिर २७
फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पेले क्लबसँग नयाँ सम्झौताको प्रस्ताव अस्वीकार गरेको खुलासा भएको छ । फ्रेन्च मिडियाले हालै क्लबले उनीसँग नयाँ प्रस्तावका लागि गरेको प्रस्तावलाई एमबाप्पेले इन्कार गरेका हुन् ।

यो बताइन्छ कि, अहिले पिएसजीका प्रशिक्षक थोमस टुचेलसँग एमबाप्पेको सम्बन्धमा खटपट बढेको छ । र, यसकै कारण एमबाप्पेले हालकै अवस्थामा क्लबको सो प्रस्ताव लत्याएको बताइन्छ । च्याम्पियन्स लिगमा आइतबार गालातासरेसँग आफ्नो घरमा भएको खेलमा टुचेलले एमबाप्पेलाई सब्सिच्युट गर्दा पनि एमबाप्पे रिसाएको अवस्थामा देखिन्थे । उनले मैदान छाडेर बाहिर आँउदा प्रशिक्षक टुचेलले एमबाप्पेसँग केही भन्न खोजिरहेका थिए । तर, एमबाप्पेले उनलाई वास्तै नगरी हिँड्दा टुचेल आश्चार्यमा देखिन्थे ।

पछिल्लो समय २० वर्षीय युवा स्टारमाथि स्पेनको क्लब रियल मड्रिडले गम्भीरतापूर्वक आँखा लगाएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदान फ्रान्सकै भएकाले पनि जिदानले एमबाप्पेलाई भित्र्याउन प्रयासरत छन् । उनले सार्वजनिक रूपमै पनि पटक–पटक यसबारे बताउँदै आएका छन् ।

रियलले विश्वकपविजेता एमबाप्पेलाई पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीका रूपमा अनुबन्ध गर्न चाहेको छ । रोनाल्डो र रियल एमबाप्पे दुवैका लागि आइडल भएकाले एमबाप्पेको अबको नयाँ गन्तव्य रियल नै हुने प्रबल सम्भावना छ । केही समयअघि एमबाप्पेले पनि ‘रियल मड्रिडले आफूलाई पर्खिनुपर्ने’ भन्दै रियल जाने ढोका खुला रहेको सन्देश दिएका थिए ।

पिएसजीमा ब्राजिलिय नेइमारले आफ्नो भन्दा बढी तलब र सुविधा लिने हुनाले पनि एमबाप्पे असन्तुष्ट रहेको बताइन्छ । तर, पछिलो समय पिएसजीले एमबाप्पेको पनि तलब बढाएर नेइमारकै बराबरी गर्ने चाहेको छ ।

आगामी समर सिजनमा नेइमार पूर्वक्लब बार्सिलोना फर्किने सम्भावना रहेकाले पिएसजी भने एमबाप्पेलाई गुमाउने पक्षमा छैन । नेइमारले क्लब छाडे एमबाप्पेलाई नेइमारको स्थान सुम्पिने तयारीमा पिएसजी छ ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १६:५०
Loading...