रोनाल्डिन्हो भन्छन्– ‘मेस्सी आफ्नो समयका उत्कृष्ट हुन् तर ……’

एजेन्सी, मंसिर २७
ब्राजिल तथा स्पेनिस बार्सिलोनाका लिजेन्ड खेलाडी रोनाल्डिन्होले आफ्ना पूर्वसहकर्मी बार्सिलोनाका लिओनल मेस्सीबारे धारणा राखेका छन् । हालै छैटौं बालोन डि‘ओर जितेका अर्जेन्टिनी फरवार्डको खेल स्तर उनका सफलताबारे रोनाल्डिन्होले बताएका हन् ।

हालै मेक्सिकोमा आयोजित एक कार्यक्रमा सहभागी हुँदै रोनाल्डिन्होले मेस्सीलाई आफ्नो समयका सर्वोत्कृष्ट खेलाी भए पनि उनी इतिहासकै सर्वोत्कृष्ट खेलाडी भने हुन नसक्ने बताए । ‘म यसरी तुलना गर्न मन पराउँदिनँ । किनभने, इतिहासकै सर्वोत्कृष्ट खेलाडी को भनेर छान्न ज्यादै कठिन छ । किनभने, त्यहाँ पेले, म्याराडोना रोनाल्डोजस्ता ठूला खेलाडी सँगै छन् ।’

मेस्सीको बारेमा सोधिएको प्रश्नमा रोनाल्डिन्होले मेस्सी उनको समयका सबैभन्दा उत्कृष्ट रहेको तर इतिहासकै सर्वोत्कृष्ट हुन नसक्ने बताए । ‘नढाँटी भन्दा म मेस्सीलाई इतिहासकै सर्वोत्कृष्ट हुन भन्न सक्दिनँ । तर, उनी आफ्नो समयका भने सर्वोत्कृष्ट हुन्,’ रोनाल्डिन्होले थपे ।

रोनाल्डिन्होले मेस्सीले आफूलाई सर्वकालीन् महान् खेलाडीका रूपमा साबित गर्न अझै केही गर्नुपर्ने बताए । मेस्सीले हालसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेकोप्रति इंगित गर्दै उनले भने, ‘मेस्सी सर्वकालीन् महान् खेलाडीबाट अझै टाढा छन् । उनले अझै केही खास कुरा जित्नुपर्छ । मलाई लाग्छ कि– आफू फुटबलको दुनियाँमा कुन ठाउँ र स्थानमा छु भन्ने कुरा मेस्सीलाई धेरै राम्रोसँग थाहा छ ।’

रोनाल्डिन्होले बार्सिलोनामा सन् २००३ देखि २००८ सम्म खेल्दा मेस्सीसँग चार सिजन सँगै बिताएका थिए । सन् २००४ बाट खेल्न थालेका मेस्सीले बार्सिलोनाको सिनियर टोलीका लागि गरेको पहिलो गोलमा रोनाल्डिन्होले नै असिस्ट गरेका थिए । रोनाल्डिन्होले बार्सिलोना छाडेपछि मेस्सीले १० नम्बर जर्सी पाएका थिए ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १५:३९
Loading...