बार्सिलोनाका लिजेन्ड खेलाडी भन्छन्– ‘च्याम्पियन्स लिग पिएसजीले जित्छ’

एजेन्सी, मंसिर २७
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो सिजन युरोपका टप क्लबहरू निकै शानदार साइजमा देखिएका छन्, जोसँग बलियो टिम पनि छ । साबिक विजेता लिभरपुल, इंग्लिस क्लब म्यानचेस्टर सिटी, इटालियन युभेन्टस, स्पेनिस बार्सिलोना, रियल मड्रिड, फ्रेन्च क्लब पिएसजी र जर्मन क्लब बार्यन म्युनिख यो सिजन उपाधि होडमा खरो देखिएका छन् ।

तर, बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले भने समूह चरणको अवस्था हेर्दा पिएसजी यसपटक सबैभन्दा बलियो टिम देखिएको बताएका छन् । ब्राजिलका खेलाडी उनले पिएसजी अहिले उत्कृष्ट लयमा फर्किएको भन्दै उसलाई रोक्न कठिन हुने बताए ।

‘हामी सधैं रियल मड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटीको कुरा गर्छौं । तर, यसपटक पिएसजी उनीहरूभन्दा निकै बलियो अवस्थामा छ,’ रिभाल्डोले भने, ‘व्यक्तिगत रूपमा मलाई लाग्छ, उनीहरूले च्याम्पियन्स लिगको उपाधि जित्न सक्छन् ।’

रिभाल्डोले अहिले नेइमार चोटबाट फर्किनु र नयाँ खेलाडी माउरो इकार्डीको लयले पिएसजीलाई सबैभदा बलियो आक्रमण लाइन भएको टिम बनाएको बताए । ‘नेइमार चोटबाट फर्किएपछि ठीकठाक देखिनु पिएसजीका लागि ठूलो आधार हो । एमबाप्पे सधैं तयार छन्,’ रिभाल्डोले भने, ‘इकार्डी जुन लयमा छन्, त्यसले पिएसजीलाई झन् बलियो बनाएको छ ।’

रिभाल्डोले पिएसजीसँग युरोपको सबैभन्दा बलियो आक्रमण टोली रहेको बताए । ‘मलाई लाग्छ, अहिले यदि कुनै टिमसँग सबैभन्दा राम्रो फरवार्ड पंक्ति छ भने त्यो पिएसजी हो,’ रिभाल्डोले भने, ‘उसलाई रोक्न सजिलो हुनेछैन ।’

पिएसजीका लागि च्याम्पियन्स लिगमा राम्रो अनुभव भएका गोलकिपर हुनु अर्को फाइदाको कुरा भएको बताए । ‘नाभास जसले रियल मड्रिडबाट तीनपटक लगातार च्याम्पियन्स लिग जिते, उनीसँग यस प्रतियोगिताको धेरै राम्रो अनुभव छ,’ रिभाल्डोले भने, ‘उनले सुरुआत सबैभन्दा शानदार गरेका छन् । मलाई लाग्छ, पिएसजीले नाभासको अनुभवलाई उपाधिका लागि उपयोग गर्ने सफल हुनेछ ।’

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १२:१९
Loading...