च्याम्पियन्स लिगमा रोनाल्डोको यो दुर्लभ रेकर्ड, जुन सजिलै तोडिनेवाला छैन !

काठमाडौं, मंसिर २७
विगतमा ९ वर्ष स्पेनिस रियल मड्रिडबाट खेलेका र हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतयोगिता च्याम्पियन्स लिगका सबैभन्दा सफल खेलाडी हुन् । उपाधि संख्या, गोल संख्या र व्यक्तिगत प्रदर्शनका हिसाबले पनि यस प्रतियोगितामा उनको स्तरको कोही पनि छैन ।

रोनाल्डोले च्याम्पियन्स लिगमा अनेकौं रेकर्ड बनाएका छन् । त्यसमध्ये कतिपय रेकर्ड त यस्ता छन्, जुन तोड्न वा तोडिन असम्भव जस्तै छन् । त्यसमध्येको एक रेकर्ड निकै दुर्लभ छ– समूह चरणका सबै खेलमा गोल !

रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा एक मात्रै यस्ता खेलाडी हुन्, जसले समूह चरणका हरेक खेलमा गोल गरेका छन् । रोनाल्डोले रियल मड्रिडमा छँदा सिजन २०१७–१८ समूह चरणका ६ वटै खेलमा गोल गरेर कीर्तिमान बनाएका थिए ।

सो रेकर्ड यो सिजन जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की र अस्ट्रियन क्लब रेड बुलका अर्लिङ हल्यान्डले तोड्न सक्ने संकेत देखाएका थिए । तर, उनीहरू दुवैले अन्तिम खेलमा गोल गर्न नसकेपछि रोनाल्डो अझै पनि यस्तो रेकर्ड एक्लै बोकेर उभिएका छन् ।

रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको सो सिजन रोनाल्डोले कूल १५ गोल गरेका थिए । त्यसबेला उनले एपोइल, बोरुसिया डर्टमुन्ड, टोटनह्यामविरुद्ध होम र अवे दुवै गरी ६ वटै खेलमा गोल गरेका थिए ।

रोनाल्डोपछि च्याम्पियन्स लिगको समूह चरणमा सर्वाधिक खेलमा गोल गर्ने रेकर्ड भने हल्यान्ड र लेवान्डोस्कीको नाममा छ । उनीहरूले यो सिजन समान ५–५ खेलमा लगातार गोल गरे । तर, रोनाल्डोको रेकर्ड बराबरी गर्न उनीहरूले छैटौं खेलमा भने गोल गर्न सकेनन् ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार ०९:०९
Loading...